Trending :
 

काठमाडौंमै उखरमाउलो गर्मी, ३५ वर्षयताकै उच्च

आषाढ ०२,२०८१

-आस्था न्यूज

असार २, २०८१ काठमाडौं ।
काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो ।
 
काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो ।
 
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘१९८९ मे ७ पछि हिजो (असार १ गते) उच्च गर्मीको रेकर्ड रह्यो ।’
 
जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार विगत विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो । तर त्यो सरदर अधिकतम तापक्रमको रेकर्ड गत वर्षदेखि नै तोडिँदै गएको छ ।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि सन् २०२० सम्मको अवधिको अधिकतम तापक्रम ०।०५ डिग्री सेल्सियसले बढेको छ । जुन महिनाको मात्रै सबैभन्दा ताता दिनहरुको ट्रेण्ड ०.०५ डिग्री सेल्सियसले बढेको छ ।
 
मे र जुन महिना सबैभन्दा गर्मी महिनाका रूपमा चिनिन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा यस वर्षको जुन ८, ९ र १० तारिख अर्थात् जेठ २६, २७ र २८ गते अधिकतम तापक्रम क्रमशः ३१.९, ३३.८ र ३४.४ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।