बैशाख ०३,२०७४
-पाउलो कोएल्हो
केटो आफ्नी हजुरआमाले चिठ्ठी लेखेको हेरिरहेको थियो ।
त्यसैक्रममा उसले सोध्यो, ‘के तपाइँले हाम्रो कथा लेख्नुभएको हो ?’
हजुरआमा लेख्न छाडेर नातीलाई जवाफ दिन थालिन्, ‘वास्तवमा म तिम्रै बारेमा लेखिरहेछु ।
जुन पेन्सिलले लेखिरहेछु, आशा गर्छु तिमी जब ठुलो हुनेछौ, यहि पेन्सिलजस्तै हुनेछौ ।’
केटोले पेन्सिलतिर पुलुक्क नजर लगायो । पेन्सिल त्यस्तो खास केहि थिएन ।
‘यो पेन्सिलमा खास त्यस्तो के छ र ? अरुजस्तै त छ ।’
‘त्यो सब तिमीले कसरी हेर्छौ भन्नेमा भर पर्छ । यसमा पाँचवटा विशेष गुण छन्, तिमीले ग्रहण गर्न सक्यौ भने संसारमा तिमी सधैँ सुखी र शान्त हुन सक्नेछौ ।’
पहिलोः तिमी धेरै कुराका लागि सक्षम छौ । तर तिमीले यो बिर्सनु हुन्न कि तिम्रा कदमहरुलाई कसैले डो¥याइरहेको छ, जसलाई हामी भगवान भन्छौँ ।
दोस्रोः मैले बेला बेला लेख्न छाडेर यो पेन्सिल तिखार्नुपर्छ । यसले पेन्सिलाई अलिकति पीडा त दिन्छ तर तिखार्छ पनि । तिमीले पनि यसबाट के सिक्नुपर्छ भने अलिकति दुःख र पीडाले मान्छेलाई तिखार्छ ।
तेस्रोः हामीले लेखेको केही गल्ती भएको खण्डमा पेन्सिलले सधैँ त्यसलाई मेट्ने अवसर दिन्छ । यसले के बुझ्नुपर्छ भने, हामीले गरेका गल्तीलाई सुधार्नु नराम्रो कुरा होइन ।
चौथोः पेन्सिल भनेको बाहिरको काठको खोस्टा भन्दा पनि यसको भित्र रहने ग्राफाइट चैँ हो । त्यसैले सधैँ आफूभित्रको गुदी कुरालाई बढी ध्यान देउ ।
पाँचौँः पेन्सिलले सधैँ आफ्नो छाप छोड्छ । तिमीले पनि आफ्नो जीवनमा जे गर्छौ त्यसको छाप छोड्दै जाने काम गर्नुपर्छ । त्यसैले आफूले गर्ने कामका बारेमा सधैँ ध्यान देउ ।
ओरिजिनल लेख : पाउलो कोएल्हो
अनुवादक : सुबिन भट्टराई
प्रमुख समाचार