सौरभ कार्की

एउटा नमिठो कविता

बैशाख १०,२०७४

-

रातभर – आफ्नै कविता पढे

र सोचे – भोली चै म जीवनको कविता लेख्छु ।

सबेरै – सूर्य दाईको चियापसल

चियाभन्दा पनि बढी – तात्तिएर बसेको रै’छ ।

ऊ त मरिछे नि !

छि ! कस्तो नमीठो झस्को पस्यो ।

सोधे – “सूर्य दाई , साँच्चै के पो थियो रे उसको नाम ?”

हो सबैले उसलाई लाटी भन्थे

म भने उसभित्र देख्थे – सधै एउटा नौलो विज्ञान ।

टेकेकी हँुदी हो कि भर्खरै सत्रौ बसन्त ?

धमिलो याद आयो – सातकी फुच्चीले झै प्रश्न गरेको

“भगवानले लामखुट्टे किन बनाएका होलान् है !

बनाए पनि यस्तो

चिलाउने गरी टोक्ने – रगत खाने चै पो किन बनाउनु ?”

लामो हाँसो गुन्जिएथ्यो चियापसलमा त्यसबखत ।

लाटिएरै हाँस्नेहरुको जमात हेरेर हाँसेकी उसले

नजानेरै नापेकी थिई – बाठाहरुको – छातीको उचाई !

हेरेर – आकाशको घाम

गुडमर्निङ भन्न उसलाई कसले सिकायो ?

जे होस् गुडईभिनिङ भन्न पनि सिकाएछ ।

तर किन सिकाएन उसले

लामखुट्टे भन्दा पनि दुष्ट त मानिसहरु पो हुन्छन् भनेर ?

एस.पी. चोक – उसको पूर्वको क्षितिज हुदो हो कि ?

नापेकी हुँदी हो – उत्तरमा एक्लै उसले – धनुषमोड ।

आधा टेकेर देब्रे खुट्टाले आधै चप्पल

पश्चिममा उ पुग्ने त्यही लेखनाथ चोक न हो ।

सायद त्यही चोकको पश्चिम फर्केको पसलबाट

किनेकी हुँदी हो उसले – टाँसिने कागजको फूल

र टाँसेर आफ्नो हत्केलापछाडी

ऊ त्यसदिन – फूलजस्तै मुस्कुराएकी थिई ।

सुस्त मनस्थितिकी ऊ

रोटी खाँदै सूर्यदाईको चौतारी होटलमा

प्राय सोध्थी – विद्यालय जान हतारिएको – सूर्य दाईको छोरालाई

“ओई तेजे – के ल्याउछस् हँ – फर्किदा स्कूलबाट – झोला भरि भरि ?”

मानिसहरु गलल्ल हाँस्थे !

उसले त्यही बसेर देखेकी छ

हतारमा अफिस कुद्न लागेका मान्छेहरु ।

हाटभर्न फिक्कलदेखि झरेका हटेरुहरु ।

कमण्डलु भरि जिन्दगी थाप्ने जोगीहरु ।

के उसले कहिल्यै देखि – आफैलाई – ऐना अगाडी ?

वा देखि उसले कहिल्यै

उसैलाई देखेर थुक निल्नेहरुको जमात ?

सम्झेर उसलाई स्खलित हुनेहरुको हुल ?

बिचरी ऊ – फूलजस्तै मुस्कुराउथी ।

ऊ अड्बाङ्गो हिडेर

बनाउथी – आफ्नै दुनियाँ ।

बटुल्थी – आफ्नै आकाश ।

र फर्किन्थी – आफ्नै गुँडमा ।

ठीक विपरित

मान्छेहरु – भत्काउन अर्काको दुनियाँ

सीधा खुट्टा पनि बाङ्गै टेक्दारै’छन् ।

सोच्दैछु

सीधा खुट्टा सीधै हिड्नेहरु – कहाँ पुग्छन् होला ?

हठात् राखेर – एक कप चिया मेरो अगाडी

सूर्य दाई एक्लै फत्फताए :

“त्यो दिन उसले हत्केलाको पछाडी नेपालको झन्डा टाँसेकी थिई ।

कुन दैवको आँखा लाग्यो कुन्नि ?

मुर्कट्टाहरुले बलात्कार पछि हत्या गरेछन् ।”

सूर्य दाई एक्लै मुर्मुरिए , मुर्मुरिरहे , फत्फताईरहे ।

झस्को यसपाली त छातीभित्रै गढ्यो ।

खै किन हो कुन्नि त्यसपछि

मलाई निर्मली र देश उस्तै उस्तै लागिरह्यो ।