राष्ट्रसंघीय मिसनमा अब २० प्रतिशत महिला प्रहरी
-
कार्तिक ७, २०७५ काठमाडौँ ।
नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० प्रतिशत पुर्याएको छ । फम्र्ड पुलिस युनिट (एफपियू) शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको हो ।
प्रहरीले बनाएको एफपियू छनोट कार्यादेश, २०७५ मा २ जुनियर अधिकृतसहित हरेक एफपियू टोलीमा कम्तीमा २० प्रतिशत महिला पठाइने उल्लेख छ । शान्ति मिसनमा महिलाको संख्या बढाउने राष्ट्रसंघकै नीतिअनुसार नेपाल प्रहरीले महिला प्रहरीको संख्या बढाउने निर्णय गरेको हो ।
‘राष्ट्रसंघको महासभामा जाँदा प्रहरी महानिरीक्षकज्यूले महिलाको संख्या २० प्रतिशत पु(याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो,’ डिआइजी शैलेश थापा क्षेत्रीले भने, ‘कार्यादेशमार्फत त्यसलाई कार्यान्वयन अघि बढाइएको हो ।’
संयुक्त राष्ट्रसंघले सन् २०२० सम्म शान्ति मिसनमा २० प्रतिशत महिला पु(याउने नीति लिएको छ । जसअनुसार सबै देशलाई महिला सैनिक तथा प्रहरीको संख्या बढाउन निर्देशन दिएको थियो । शान्ति मिसनमा महिलाको संख्या ज्यादै न्यून भएको भन्दै राष्ट्रसंघले संख्या बढाउन लागेको हो ।
राष्ट्रसंघीय शान्ति मिसनमा जनशक्तिका हिसाबले नेपालको योगदान छैटौँ स्थानमा पर्छ । नेपाली सेनाले पनि राष्ट्रसंघीय शान्ति मिसनमा महिलाको संख्या बढाउँदै लगेको छ । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार पछिल्ला वर्ष शान्ति मिसनमा महिलाको संख्या उल्लेख्य रूपमा बढेको छ । छनोटको प्रतिस्पर्धामै धेरै महिला सफल हुने गरेको उनले बताए ।
उत्कृष्ट प्रहरीको कोटा अझै दुरुपयोग
एकपटकको एफपियू मिसनमा ११ जना प्रहरी उत्कृष्ट काम गरेको आधारमा छनोट हुन्छन् । तर, उत्कृष्ट कोटाको दुरुपयोग रोकिएको छैन । प्रधानमन्त्री, गृहमन्त्री र आइजिपीका निकटका प्रहरीलाई पठाइने विकृति अझै छ ।
११ मध्ये दुईजना उत्कृष्ट प्रशिक्षक, विशेष कार्यदलबाट एकजना, उत्कृष्ट अनुसन्धानकर्ता र खेलाडी एक–एकजना पर्छन् । बाँकी पाँचजना उत्कृष्ट काम गरेको भन्दै भिआइपीका निकट व्यक्ति पठाइने विकृति हटेको छैन । उत्कृष्ट छनोटका लागि प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी तथा एसएसपीको नेतृत्वमा एक समिति गठन गरिएको छ । सोही समितिले ११ जनाको नाम टुंगो लगाउनेछ।
छनोट कार्यादेशमा प्रहरीको छवि उच्च बनाउने गरी काम गरेको तथा जोखिमपूर्ण भूमिका निभाएको व्यक्ति भनिएको छ । तर, यस्तो कोटामा संगठनका लागि दुःख गर्ने भन्दै पहुँचवाला व्यक्तिका निकट रहेका प्रहरी छनोट हुने गरेको गुनासो प्रहरी अधिकारीको छ ।
यसबाहेक अन्य प्रहरीको छनोट भने पारदर्शी हुँदै गएको छ । आफ्नो पदमा वरिष्ठताका आधारमा सबै प्रदेश, महानगरीय प्रहरी तथा प्रहरी प्रधान कार्यालयले परीक्षा लिएर नै छनोट गर्छन् । सबै कार्यालयबाट आफ्नो पदमा सिनियरमध्येलाई सिफारिस गरेपछि परीक्षा लिएर त्यसमा उत्कृष्ट हुनेलाई एफपियू मिसनमा पठाउने गरिएको छ । हाल छनोट कार्य चलिरहेको एसएसपी विभूतिराज पाण्डेले बताए ।
राष्ट्रसंघले कोटा बढायो
राष्ट्रसंघले द्वन्द्वग्रस्त देश सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीको एफपियू टोलीको कोटा बढाएको छ । यसअघि डार्फर मिसनमा एक सय ४० जनाको टोली जाने गरेकोमा अब एक सय ८० जना जानेछन् । ‘डार्फर एफपियू मिसनमा ४० जनाको कोटा थप भएको छ,’ प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डे भन्छन्, ‘गृह मन्त्रालयबाट स्वीकृत गराई हामीले यसपटक एक सय ८० जना पठाउनेछौँ ।’ एसपी मीरा चौधरीको कमान्डमा एक सय ८० जनाको टोली डार्फरमा जाने तयारीमा छ ।
नेपाल प्रहरीबाट डार्फर र हाइटीमा गरी दुईवटा एफपियू टोली कार्यरत छन् । हाइटीमा एक सय २० जनाको टोली खटिँदै आएको छ । नयाँ पत्रिका