१० क्यासिनोबाट अझै तीन अर्ब ८५ करोड बक्यौता उठ्न बाँकी

चैत्र ११,२०८०

-आस्था न्यूज

चैत ११, २०८० काठमाडौं ।
१० क्यासिनोले रोयल्टीबापत बुझाउनुपर्ने तीन अर्ब ८५ करोड बक्यौता वर्षौँदेखि सरकारलाई बुझाएका छैनन् । हेप्पी आवर, रक इन्टरनेसनल, क्यासिनो र्‍याड, याक एन्ड यती, सेन्ट्रल मिडिया प्रालि, फूलबारी रिसोर्ट, नेपाल रिक्रियसन सेन्टर, सोल्टी होटेल, अन्नपूर्ण इन्टरनेसनल र होटेल एभरेस्टले बक्यौता नबुझाएका हुन् ।
 
पुरानो बक्यौता नबुझाएका केही कम्पनीले अदालतको ‘स्टे अर्डर’को भरमा क्यासिनो सञ्चालन गरिरहेका छन् । अदालती मुद्दालगायत कारणले वर्षौँदेखि उठाउन नसकेको एक अर्ब ७५ करोड बक्यौताको हिसाब महालेखा नियन्त्रकको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पठाइएको पर्यटन विभागका महानिर्देशक चक्र बुढाले बताए । कुमारीचोकमा पठाएको बक्यौता उठाउने दायित्व उसैको हुने बुढाको भनाइ छ । त्यस्तै, पर्यटन विभाग आफैँले उठाउने बक्यौताको दायित्व दुई अर्ब १० करोड रुपैयाँ छ । 
 
भारतीय नागरिक राकेश बाधवा नेतृत्वको रिक्रियसन सेन्टरले सबैभन्दा धेरै बक्यौता बुझाउन बाँकी छ । रिक्रियसन सेन्टरले सोल्टी, अन्नपूर्ण, हायात, एभरेस्टलगायत होटेलमा विभिन्न चरणमा क्यासिनो सञ्चालन गरेबापतको ८७ करोड ५९ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । उसले राज्यलाई बुझाउनुपर्ने रोयल्टी बक्यौता अझै नबुझाएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ । त्यस्तै, याक एन्ड यतीको विभिन्न चरणमा क्यासिनो सञ्चालन गरेबापतको ७३ करोड ९५ लाख बक्यौता छ । जसमध्ये साढे ५४ करोड पर्यटन विभाग र १९ करोड ४४ लाख केन्द्रीय तहसिल कार्यालयले उठाउनुपर्ने दायित्वमा हो । 
 
विभागका अनुसार चारवटा क्यासिनो सञ्चालनको अनुमति पाएको हेप्पी आवरको कुल ५९ करोड २९ लाख रुपैयाँ बक्यौता छ । जसमध्ये ४७ करोड ९४ लाख विभाग आफैँले र पुरानो ११ करोड ३५ लाख बक्यौता केन्द्रीय तहसिल कार्यालयले उठाउनुपर्नेछ । रक इन्टरनेसनलले २९ करोड २० लाख, क्यासिनो र्‍याडले ४० करोड २७ लाख, याक एन्ड यतीले ५४ करोड ५० लाख र सेन्ट्रल मिडिया प्रालिले सात करोड ८० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । रक इन्टरनेसनलले पनि चारवटा क्यासिनो सञ्चालनको अनुमति पाएको छ । हेप्पी आवर, रक र सेन्ट्रल मिडियाले चार–चारवटा आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेल ९मिनी क्यासिनो० सञ्चालन गर्ने अनुमति लिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।