बाजुरामा चामलको आपूर्ति बढाइने

फाल्गुण १६,२०८०

-आस्था न्यूज

फागुन १६, २०८० काठमाडौं । 
जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वमा बसेको सर्वदलीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पर्याप्त चामल ढुवानी गरी आपूर्ति बढाउन निर्देशन दिएको छ । 
 
बाजुरामा पर्याप्त चामल ढुवानी नहुँदा चामलका लागि नागरिक लाइन लाग्नुपरेको समाचार सार्वजनिक भएसँगै स्थानीय प्रशासनको नेतृत्वमा यस्तो निर्देशन दिइएको हो । पर्याप्त मात्रामा चामल नहुँदा जिल्ला खाद्य कार्यालय बाजुरामा चामल किन्नेको हानाथाप भइरहेकोबारे सोमबार नयाँ पत्रिकामा कभर स्टोरी प्रकाशित भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाजुराले सर्वदलीय बैठक आह्वान गरेको थियो ।
 
बैठकले चामलको आपूर्ति तत्काल गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको संयोजकत्वमा बसेको बैठकमा स्थानीयस्तरमा क्रियाशील प्रमुख चार राजनीतिक दल कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीका नेता तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बाजुरा शाखा प्रमुख सहभागी थिए ।
 
प्रजिअ पौडेलले जिल्लाका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गरी चामलका लागि लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । उनले मागअनुसारको ढुवानी नहुँदा स्थानीयले अनावश्यक झन्झट र समस्या भोग्नुपरेको भन्दै तत्काल ढुवानी कार्य गराउने गरी पहल गरिने बताए । आजको नयाँ पत्रिकामा खबर छ ।