Trending :
 

जताततै निर्मलाको स्केचसहितको पोष्टर

मंसिर १८,२०७५

-

 मंसिर १८, २०७५ काठमाडौँ । 
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासटयाग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो ।
 
जसरी सरकारले ११ गते राजधानीवासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर टाँगेको थियो । निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरि फैलाउन उस्तै तरिका अपनाइएको थियो ।
 
पोलपोलमा प्रधानमन्त्रीका पोस्टर जसरी टाँगिएका थिए, त्यसरी नै निर्मलाका पोस्टरले पोलबाटै न्याय मागिरहेका थिए । प्रधानमन्त्रीको तस्बिरसहित नारा फैलाउन सरकारी कोष र सरकारको आह्वानमा निजी क्षेत्रले लगानी गरेको थियो भने निर्मलाको न्याय माग्न सार्वजनिक हुन नचाहने तन्नेरीको एउटा समूह थियो । एउटा प्रचारको तरिका थियो, अर्को न्यायको खोजी ।
 
प्रहरीले न्याय माग्ने ती पोस्टरलाई च्यातेन मात्र, टाँस्ने केहीलाई पक्राउसमेत गर्‍यो । न्याय खोज्नेहरू झनै उत्साहित भए । पोल र भित्तामा पोस्टर त टाँगिएका थिए नै, सोमबारसम्म आइपुग्दा देशव्यापी रूपमा सवारी साधनमा स्टिकर टाँसिन थालेका छन् । न्याय माग्ने अभियान भाइरल बन्दै गएको छ ।
 
यी पोस्टर र स्टिकर कसले छापिरहेछ,कसले टाँसिरहेछ रु
सामाजिक सञ्जाल फेसबुकमा एउटा ग्रुप छ– ‘मेन्स रुम रिलोडेड’ अर्थात् ‘एमआरआर’ । २०११ डिसेम्बरबाट सक्रिय झन्डै एक लाख २७ हजार फलोअर रहेको उक्त पेजमार्फत जोडिएका केही तन्नेरी थिए, जसले पर्दापछाडि बसेर निर्मलाको न्यायका निम्ति पोस्टर डिजाइन गरे ।
 
सार्वजनिक हुन नचाहने यस समूहका एक सदस्यले कान्तिपुरसँग यसबारे खुलासा गरे । न्याय दिन सरकार असफल भइरहेका बेला प्रधानमन्त्री मुस्कुराइरहेको तस्बिरछ्यापछ्याप्ती भएकामा असन्तुष्ट यस समूहका केही सदस्य १२ गते बेलुकी काठमाडौंको एक ठाउँमा भेला भए ।
 
कोही विद्यार्थी र कोही काम गर्ने तन्नेरीको भेलाले न्याय माग्नका लागि प्रधानमन्त्रीको तस्बिरसहितको पोस्टरकै डिजाइनमा निर्मलाको तस्बिर राखेर न्यायकोआह्वान गर्ने निर्णय लियो ।
 
समूहकै एक जनाले तुरुन्तै डिजाइन तयार पारे । ‘सरकारले नयाँ युगको सुरुवात भन्ने नारा राखेको थियो, त्यसप्रति भएको विरोधको प्रतिवाद गर्दै प्रधानमन्त्रीले सरकारको उपस्थिति देखाउन प्रचार गरेको तर्क अगाडि सारेका थिए,’ समूहका ती सदस्यले कान्तिपुरसँग भने, ‘सोही भनाइ सम्झेर हामीले नारा तय गर्‍यौं, सरकार भेटियो न्याय भेटिएन ।’
 
३ हजार ६ सय रुपैयाँ खर्चेर तीसवटा फ्लेक्स र ३ हजार ४ सय रुपैयाँ खर्चेर दुई सयवटा पोस्टर छापिए, राति १० बजेतिर । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय समिटको सुरक्षामा खटिएका प्रहरीको आँखा छल्दै राति १२ बजे निस्केको ६र६ जनाको तीन टोलीले फ्लेक्स र पोस्टर राजधानीका मुख्य केन्द्र बानेश्वरदेखि कोटेश्वरसम्म र पुल्चोक–असन हुँदै बालाजुसम्म टाँसेको थियो । बिहान ५ बजेसम्म लगाएर टाँसिएका फ्लेक्स र पम्प्लेटमध्ये केही सबेरै प्रहरीले हटाएको थियो ।
 
पोस्टर र फ्लेक्स टाँगेपछि समूहले आफ्नो फेसबुक पेजमा सन्देश पोस्ट गर्‍यो । लेखिएको थियो, ‘चार महिना बित्दा पनि निर्मलाले न्याय नपाउनु र परिवारको स्वास्थ्यमा समेत नराम्रो असर पर्नु दुस्खद छ । गएको शनिबार पशुपतिमा एक रुपैयाँ भिख मागेको टोलीले सरकार र सरोकारवाला सबैलाई दबाब दिन रातभर काठमाडौंका विभिन्न स्थानमा फ्लेक्स र पम्प्लेट टाँसेको छ ।’
 
एमआरआर फेसबुक पेजले पोस्टरको डिजाइन गुगल ड्राइभमा राखेको थियो र आहवान गरेको थियो, ‘यदि डिजाइन कपी चाहिए गुगल ड्राइभको लिंक पाउनुहुनेछ ।’ समूहका एक सदस्यका अनुसार करिब दुई सय औपचारिकरअनौपचारिक समूहले छाप्नका लागि पोस्टरको डिजिटल कपी लगिसकेका छन् ।
 
रातको चिसो नभनी टाँसेका पोस्टर प्रहरीले लगेपछि समूहले गत शनिबार भृकुटीमण्डपमा एउटा भेला गर्‍यो । केही नयाँ योजनामा छलफल गर्ने भन्दै बोलाइएको भेलामा सय युवा जम्मा भएका थिए । त्यस क्रममा ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएका २ सय २५ स्टिकर बाँडियो । त्यसलाई आफ्नो सवारी र सडकमा हिँडिरहेका सार्वजनिक सवारीमा टाँसे । ‘सरकारले पोस्टर त च्यात्न सक्ला, स्टिकर त सक्दैन नि,’ ती सदस्यले भने ।
 
प्रहरीले पोस्टर च्यातेपछि समूहका सबै सदस्यले फेसबुकमा ‘प्रोफाइल पिक्चर’ का ठाउँमा निर्मलाको तस्बिरअंकित पोस्टर राखेर क्याम्पेन गरेका छन् जसलाई हजारौं फलोअर भएका कैयौं फेसबुक पेजले साथरसमर्थन दिँदै भर्चुअल संसारमा विस्तार गरे ।
 
समूहका एक सदस्यका अनुसार अहिलेसम्म फ्लेक्स, पोस्टर र स्टिकर छाप्नमा ९ हजार ५ सय ६५ रुपैयाँ खच भएको छ । यति रकम समूहका १८ जनाले जनही ५ सय ३२ रुपैयाँका दरले उठाएका हुन् । एक युवाले भने, ‘निर्मलाको न्यायका निम्ति आफ्नो खर्च काटेर रकम जुटाएका हौं, कसैसँग सहयोग लिएका छैनौं ।’
 
युवाकै अर्को एक समूहले गत शुक्रबार माइतीघर मण्डला छेउका पोलमा पोस्टर टाँसेका थिए जसलाई प्रहरीले च्यातेको थियो र पोस्टर टाँस्न संलग्न १२ जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले केही घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।
 
समूहको आहवानमा शनिबार पनि माइतीघर मण्डलामा पोस्टर प्रदर्शन गरियो । उक्त समूहका एक सदस्यका अनुसार उनीहरूले तीन हजारप्रति पोस्टर छापेका थिए, २५ हजार खर्च बटुलेर ।
 
समूहले झापा, विराटनगर, पोखरा, धनगढीलगायत राजधानीबाहिरका मुख्य सहरमा पोस्टरलाई विमान र गाडीबाट पठाएको थियो । समूहका सदस्य प्रितम सुवेदीले भने, ‘यो निर्मलाको न्यायका निम्ति जनस्तरबाट गरिएको आहवान हो, जुन बिस्तारै देशव्यापी बन्दै छ ।’
 
प्रितमजस्तै सयौं तन्नेरी सडकमा पोस्टर र सवारीसाधनमा स्टिकर टाँस्न निस्किएका छन् । सोमबार बिहान तन्नेरीको एक समूह नयाँ बसपार्कमा लामो दूरीका बसमा स्टिकर र पोस्टर टाँस्न व्यस्त भेटिए । १२ कक्षाको परीक्षा सकेर बसेकी किशोरी सिर्जना विश्वकर्मा साथीहरूसँग बिहानैदेखि सार्वजनिक बसमा पोस्टर टाँस्न व्यस्त थिइन् ।
 
‘मेरो बुझाइमा निर्मलाका निम्ति न्याय अभियान समग्र महिलामाथि हुने यौन दुव्र्यवहारविरुद्धको अभियान हो,’ उनले भनिन्, ‘नेपालमा कोही पनि नारी छैनन् होला, जो आफ्नो जीवनकालमा एक न एकपटक यौन दुव्र्यवहार नभोगेको होस् ।’
 
उनले भनिन्, ‘साँझ ढल्केपछि एक्लै घर फर्कंदा हरेक नारीलाई पुरुष देख्नेबित्तिकै डर अनुभव हुन्छ ।’ यस्तै अनुभूतिका कारण आफू सार्वजनिक बसमा पोस्टर टाँस्न खटिएको उनले सुनाइन् । ‘पोलपोलमा सरकार हाँसेको तस्बिर छ । यसरी कसरी हुन्छ नयाँ युग रु जबकि सयौं निर्मलाका हत्यारा पक्राउ परेका छैनन्, सयौं निर्मला यौन दुव्र्यवहार भोगिरहेका छन्,’ उनले भनिन् ।
 
सामाजिक सञ्जाल फेसबुक र टवीटरका प्रयोगकर्ताले आफ्नो प्रोफाइल तस्बिरमा पोस्टर राख्ने क्रम व्यापक बनेको छ । कैयौंले पोस्टर र स्टिकरका लागि आर्थिक सहयोग गर्न चाहेको बताइरहेका छन् ।
 
सामाजिक सञ्जाल टिवटरमा अविषेकराज सिंहले निर्मलाका निम्ति न्याय माग्दै पोस्टर टाँस्दा सरकारले च्यातेको गलत लाग्यो भने जनसहभागिताबाट थप पोस्टर र स्टिकर बनाउन सहयोग गर्न सकिन्छ भन्दै टिवटेका छन् । उपन्यासकार बुद्धि सागरले टिवटमा लेखेका छन्, ‘तपाईंहरूले पोलमा आफू हाँसेको पोस्टर टाँस्न मिल्छ भने हामीले पनि आफू रोएको पोस्टर टाँस्न मिल्छ ।’
 
सोमबार मात्रै समूहले सार्वजनिक सवारीमा ९ सय स्टिकर र सय पोस्टर टाँसेको छ । तीमध्ये करिब ५ सय राजधानीबाहिर जाने सार्वजनिक यातायात थिए । स्टिकर टाँसिरहेकी सिर्जनाले भनिन्, ‘अब निर्मलाको न्याय अभियान जोमसोमदेखि कञ्चनपुरसम्म र झापादेखि कैलालीसम्म पुगेको छ ।’
प्रहरीले किन च्यातिरहेछ प्रहरी पोस्टर रु
 
पोस्टर प्रहरीले च्यातिरहेका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहँदा प्रहरी प्रधान कार्यालय भने रक्षात्मक बनेको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले पोस्टर उक्काउने र च्यात्ने प्रहरीको कुनै नीति नभएको बताए ।  कान्तिपुर दैनिक