Trending :
 

जाडोमा जल्छन् महिला

पौष २२,२०७५

-

पुस २२, २०७५ जनकपुरधाम

जाडोले बढी पिरोल्ने ठाउँ हो-तराई। यहीँ चल्छ शीतलहर पनि। यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर (आगो) ताप्छन्। प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ। तर महिलाका लागि कहिलेकाहीँ यही आगो काल बनिदिन्छ।

जनकपुर अञ्चल अस्पतालको इमर्जेन्सी वार्डबाट शुक्रबार मात्रै बर्न वार्डमा सारिएकी धनुषाको बैरिया निवासी आठमहिने गर्भवती अनितादेवी यादवका लागि जाडोको घुर काल बन्यो। मंगलबार दिउँसो दाउराको चुलोमा आगो ताप्दै खाना पकाइराखेकी थिइन् उनी। चुलोतर्फ फर्किएर ३० वर्षीया अनिता चिसोले दुखेको कम्मर सेकिरहेकी थिइन्। उनले केही बेर आगो तापिन्। दुखाइ कम पनि भयो। तर छिनमै आगोले उनको साडी समात्यो। र शरीरभरि फैलियो। हेर्दाहेर्दै कपडा मात्र होइन, शरीर पनि आगोले जलायो। देखेर घरपरिवारले हारगुहार त गरे। उद्धार गरिनसक्दै अनिताको शरीरका आधा भाग आगोले भेटिसकेको थियो।

तत्कालै अनितालाई उपचारका लागि अञ्चल अस्पताल भर्ना गरियो। अहिले उनको ज्यान जोगिएको छ। गर्भको बच्चा पनि सुरक्षित छ। तर घाउले गर्भावस्थाको पीडा अझ बल्झाइदिएको छ।

जनकपुरधाम उपमहानगरपालिका पुलचोककी मंगलीदेवी दासलाई पनि आइतबार आगोले भेट्यो। ६ महिनाकी गर्भवती दास चिसोबाट बच्न आगो ताप्दै थिइन्। साडीलाई एक्कासि आगोको झिल्कोले भेटेपछि छिनमै शरीरभरि फैलियो। घरपरिवारले जेनतेन उनलाई बचाएर अस्पताल भर्ना गरायो। उनी पनि अहिले खतरामुक्त छिन्। पोलाइको पीडा र त्यसमाथि गर्भमा भएको बच्चाको चिन्ताले दासलाई झन् पीडित बनाएको छ।

६० वर्षीया दुखनी देवी सदा बिहीबार घरअघि पराल र दाउरा जोडेर घुर ताप्दै थिइन्। मुसहर समुदायकी सदालाई चिसोबाट जोगिन न्याना लुगा नहुँदा आगोकै सहारा थियो। आगो तापिरहेकी उनी त्यहीँ निदाइन्। साडीको फेरो घुरमा पर्‍यो। शरीरभरि आगो फैलियो। दुखनी चिच्याउन पनि सकिनन्। उनको पूरै शरीर जल्यो। छिमेकीले जल्दै गरेकी दुखनीलाई देखे। उनीहरूले घटनाबारे रघुनाथपुर बस्ने छोरी देवकुमारी सदालाई फोन गरेर जानकारी गराए।

‘म आउँदासम्म आमा अचेत थिइन्’, छोरी देवकुमारीले भनिन्, ‘रातिको बेला जेनतेन टेम्पोमा बसाएर अञ्चल अस्पताल ल्याएँ।’ ६ दिनदेखि अस्पतालमा उपचार गराउँदा पनि आमाको बाँच्ने अवस्था देखिएन। ‘उपचार गराउनु निकै महँगो छ, म अर्काको घरमा मजदुरी गर्छु। अहिलेसम्म २० हजार रुपैयाँ खर्च भइसक्यो’, उनले गुनासो गरिन्, ‘अब खर्च गर्ने सामथ्र्य छैन।’ शरीर ४५ प्रतिशतभन्दा बढी जलिसकेको हुनाले दुखनीको बाँच्ने सम्भावना न्यून रहेको चिकित्सकहरू बताउँछन्। तर जति दिन उनी बाँच्न सक्छिन्, त्यति दिनसम्म पनि बचाएर राख्ने परिवारको अवस्था नभएकाले दुखनीलाई उपचारबिनै घर पठाउन लागिएको छ।

गरिबका लागि चिसो काल छ र आगो पनि। चिसोबाट जोगिन आगो ताप्दा जलेका घटना तराई मधेसमा बढी छन्।

अञ्चल अस्पतालको बर्न वार्डमा उपचाररत दुखनी, अनिता, कल्याणीदेवी, पुनमदेवी, रिंकु कापर र सीतादेवी मण्डल चिसोबाट जोगिन घुरा ताप्ने क्रममै जलेर घाइते भएका हुन्। यसका अतिरिक्त जलेर घाइते भएका अन्य तीनको सर्जिकल र पाँच जनाको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ। जल्ने सबै महिला हुन्। चिसोबाट जोगिन आगो ताप्ने क्रममा प्रायः उनीहरू नै पीडित बन्ने गरेका छन्। अधिकांशको शरीरमुनिको भाग जलेर काम नलाग्ने अवस्था पनि हुन्छ।सन् २०१३ देखि नै धनुषामा अग्नि हिंसापीडित महिलाका लागि काम गर्दै आएकी साहले आगोले सबैभन्दा बढी जल्ने महिलानै रहेको दाबी गरिन्। आफ्नो संस्थाले त्यस्ता पीडित महिलालाई आवश्यकताअनुसार एक हजारदेखि ३० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने उनको भनाइ छ। उनीहरूलाई औषधि तथा पोषणका लागि पनि सघाउने गरेको उनले बताइन्।

उपचारमा पनि समस्या

जनकपुर अञ्चल अस्पतालमा जलेर घाइते भएका बिरामीको उपचार गर्न ६ वटा बेड भएको वार्ड छुट्याइएको छ। बिरामीको चाप अत्यधिक भए पनि बेड नभएका कारण कतिपयलाई इमर्जेन्सीमा त कतिलाई सर्जरी वार्डमा राखेर उपचार गर्नुपरेको जनरल सर्जन डा. राजेशकुमार साह बताउँछन्। ‘बर्नका बिरामीको हेरचाह अरूको भन्दा छुट्टै हुन्छ’, उनले भने, ‘उनीहरूलाई चाँडै संक्रमण हुन सक्ने, एयरकन्डिसनर कोठामै राख्नुपर्ने जस्ता अवस्था छन्।’

अग्निपीडितहरूमा क्रस इन्फेक्सनको पनि उत्तिकै खतरा भएकाले यस्ता बिरामीलाई अन्य रोगका बिरामीसँग राख्न जोखिम हुने चिकित्सकको भनाइ छ। तर, अस्पतालमा विशेष सुविधा नहुँदा जेनतेन उपचार गर्नुपर्ने बाध्यता रहेको डा. साहले बताए।

अस्पतालले जलेर घाइते बिरामी विपन्न भए शल्यक्रिया र चिकित्सक जाँच निःशुल्क गर्ने व्यवस्था मिलाएको छ। ‘ड्रेसिङ पनि निःशुल्क गरी गरिबलाई सहुलियत दिन्छौं’, डा. साहले भने। तर २५ प्रतिशतभन्दा बढी शरीरको भाग जलेका बिरामीलाई वीर अस्पतालमा समेत भर्ना नलिइएको अवस्थामा यहाँ सक्दो निको पार्ने प्रयास गर्ने गरिएको उनको भनाइ छ।

अन्नपूर्ण पोस्ट