मेयरले घरको सिसा फुटेको क्षतिपूर्ति सरकारसँग गाडीको समेत मागेर लगे
-
एनएलजी इन्स्योरेन्स बिर्तामोड शाखा भन्छ–घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार ९८३ गरी ६ लाख ३५ हजार ९८३ रुपैयाँ लगिसक्नुभयो
स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ ।
२२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ लिएका हुन् ।
मेयर साबले १३ कात्तिक ०७४ मा घरको र १४ कात्तिकमा गाडीको बिमा रकमका लागि हाम्रो बिर्तामोड शाखामा निवेदन हाल्नुभएको थियो । २२ असार ०७५ मा दुवैको क्षतिबापतको रकम भुक्तानी दिइएको छ,’ एनएलजी इन्स्योरेन्सले भन्यो।
इन्स्योरेन्स कम्पनीमा भएको रेकर्डअनुसार गाडी मेयर सिवाकोटीकै नाममा र घर श्रीमती विद्या बस्नेतको नाममा छ । गाडीको बिमा रकम मेयर सिवाकोटीको नाममा भुक्तानी दिएको र घरको भने सिंहबाहिनी टी स्टेट प्रालिको नाममा चेक बनाएर दिएको इन्स्योरेन्सका कर्मचारीले बताए । सिंहबाहिनी टी स्टेट मेयरको फर्म हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।