निरन्तर वर्षा अझै केही दिन रहने, सतर्कता अपनाउन आह्वान
-
असार २६,२०७६ काठमाडौं ।
मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।
यस अवधिमा नेपालको अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने र एक/दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए ।
“काठमाडौँ उपत्यकामा पूर्ण बदली छ,” उनले थपे, “अन्यत्र धेरैजसो स्थानमा मध्यम खालको बदली भइरहेको छ ।”
उनका अनुसार गएको “मनसुनको न्यून चापीय क्षेत्र नेपाल र भारतको सिमानामा आइपुगेकाले पनि बढी वर्षा भएको हो,” बासीले थपे, “यसले बङ्गालको खाडीको बाष्पीय हावा तानिरहेको छ । ” आजको गोरखापत्र दैनिकमा खबर छ ।