Trending :
 

संसद् सचिवालय सद्दे सवारी साधन बिग्रिएको देखाएर करोडौं मूल्यमा गाडी खरिद

श्रावण २१,२०७६

-

साउन २१, २०७६ काठमाडौं ।
संघीय संसद् सचिवालयले आफूसँग भएका दर्जनौं सद्दे सवारी साधन बिग्रिएको देखाएर करोडौं मूल्यमा १८ वटा नयाँ गाडी खरिद गरेको खुलासा भएको छ । 
 
सचिवालयमा भएका गाडी थन्काएर नयाँ किन्दा राज्यलाई १२ करोड बढी रुपैयाँको व्ययभार थपिएको छ । सरकारले आर्थिक मितव्ययिताको नीति अवलम्बन गरिएको बताउँदै आए पनि संसद् सचिवालयले भने सो नीतिको खिल्ली उडाउँदै महँगो मूल्यमा स्कार्पियोे गाडी खरिद गरेको हो । 
 
सचिवालयका अनुसार पछिल्लोपटक प्रतिगाडी झन्डै ६५ लाख मूल्य तिरिएको छ ।
 
सचिवालय परिसरमा सय बढी सवारी साधन थन्क्याएर राखिएको छ भने बर्से्नि महँगोमा गाडीहरू थप्ने क्रम जारी छ । परिसरमा राखिएका गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्नकै लागि ‘बिग्रिएको’ भन्दै प्रयोग नगरेको पाइएको छ ।
 
सचिवालयले चलिरहेका गाडी थन्क्याएर संसदीय समितिका सभापतिहरूलाई नयाँ गाडी किनेर दिएको हो । सभापतिहरू पनि नयाँ गाडी चढ्ने होडबाजीमा उत्रन थालेका छन् । 
 
सचिवालयका कर्मचारीका अनुसार सभापतिको नयाँ गाडी चढ्ने लालसाका कारण पुराना गाडी थन्काएर नयाँ किन्नुपर्ने बाध्यता आएको हो । आजको राजधानी दैनिकमा खबर छ।