नेकपामा रुचि अनुसारको जिम्मेवारी
-
साउन २३, २०७६ काठमाडौं ।
तपाईंलाई के काम दिऊँ? रुचि केमा छ? झन्डै १५ महिनादेखि भूमिकाविहीन केन्द्रीय नेतालाई अचेल नेकपा महासचिव विष्णु पौडेलले सोध्ने गरेका प्रश्न हुन् यी। विभागीय जिम्मेवारी दिनुअघि नेताहरूसँग रुचि बुझ्ने जिम्मा नेकपा सचिवालयले महासचिव विष्णु पौडेललाई दिएको थियो।
त्यही जिम्मेवारीअनुसार पौडेल नेताहरूको रुचि बुझेर सूची बनाउन व्यस्त छन्। १३ साउनको सचिवालय बैठकले ३२ केन्द्रीय विभाग र एउटा प्रतिष्ठानमा जिम्मेवारी दिएर परिचालन गर्न खोजेका नेताहरूको रुचि बुझ्ने र त्यही आधारमा कार्यविभाजन प्रस्ताव परिमार्जन गर्ने निर्णय गरेको थियो।
केन्द्रीय सदस्यलाई पहिलो, दोस्रो र तेस्रो रुचिका आधारमा धारणा बुझ्ने अनि प्रस्ताव परिमार्जन र व्यवस्थित बनाएर आगामी बैठकमा ल्याउन सचिवालय बैठकले निर्देश गरेको थियो।
नेकपा विधानमा केन्द्रीय कमिटीका ६० प्रतिशत नेतालाई भूगोल र ४० प्रतिशत नेतालाई विभागीय जिम्मेवारी दिने व्यवस्था छ। त्यही आधारमा ४४१ सदस्यीय केन्द्रीय समिति सदस्यमध्ये प्रदेश पदाधिकारीमा २८, जिल्ला इन्चार्जमा ८३, जिल्ला सहइन्चार्जमा १५२, जिल्ला अध्यक्षमा ४ (कृष्ण राई-काठमाडौं, रामकुमार यादव-सिरहा, अशोक मण्डल-सप्तरी र राजन दाहाल-सिन्धुली) र जिल्ला सचिवमा २ (हिमाल शर्मा–काठमाडौं, प्रमोदनारायण यादव-सिरहा) गरी २७२ जना नेतालाई भौगोलिक जिम्मेवारी दिइसकेको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।