कालापानीमा भारतीय अतिक्रमणप्रति नेपाल सरकारले कुरा राख्ने
-
कात्तिक २१, २०७६ काठमाडौं ।
आज कार्तिक २१ गते बिहीबार आज देशका राष्ट्रिय दैनिक पत्रिकाहरुले कालापानीमा भारतीय अतिक्रमणको विषयलाई प्राथमिकताका साथ उठान गरेका छन् ।
त्यस्तै, उपनिर्वाचनमा दलहरुले उम्मेदवार टुङ्ग्याएको देखि डा.गोविन्द केसीको अनसनलाई पनि राष्ट्रिय दैनिकहरुले प्रमुख समाचार बनाएका छन् ।
जब मोदीले उठाएनन् कोइरालाको फोन...
सरकारले कालापानी क्षेत्र नेपालकै भएको प्रस्ट पारेको छ । भारतले तीन दिनअघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर सरकारले यस्तो घारणा सार्वजनिक गरेको हो ।
यता, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिपुलेकको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएको कान्तिपुर दैनिकमा समाचार छ । प्रेस संगठनले बुधबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग केही समयअघिको भेटमा स्पष्ट कुरा राखेको बताए ।
यता, नयाँ पत्रिका दैनिकले लिपुलेकबारे छलफल गर्न खोज्दा मोदीले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको फोन नउठाएको समाचार प्रकाशित गरेको छ । नेपाललाई जानकारी निदिइ लिपुलेक भञ्ज्याङबाट व्यापार आदन प्रदान गर्न चीन र भारतले चार वर्षअघि सम्झौता गरेपछि प्रधानमन्त्री कोइरालाले समकक्षी नरेन्द्र मोदीसँग छलफल गर्न खोजेका थिए । तर, त्यो सम्भव भएन ।
तत्कालिन परराष्ट्र सल्लाहकार डा। दिनेश भट्टराईका अनुसार २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला दुई प्रधानमन्त्रीबीच हरेक महिना टेलिफोन संवाद गर्ने सहमति बनेको थियो । तर, चीनसँगको सहमतिपछि त्यो संवाद निरन्तर हुन सकेन । ‘हाम्रा प्रधानमन्त्रीज्यूले लिपुलेक, कालापनीका विषयमा मोदीजीसँग छलफल गर्ने तयारीका साथ टेलिफोन गर्नुभयो ।
तर, उताबाट रिसिभ भएन,’ भट्टराईले भने । कान्तिपुर दैनिकले लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जानकारी लिने समाचार प्रकाशित गरेको छ ।