नेपालमा चर्को विवाद भएपछि नक्सा तत्काल संशोधन गर्ने भारतको भ्रम
-
मंसिर ७,२०७६ काठमाडौं ।
अन्नपूर्णका अनुसार नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ । कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो । यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ, मात्र नाम झिकिएको छ ।
जम्मु कश्मीरलाई दुई प्रान्तमा विभाजन गरेपछि जारी नक्सामा भारतले काली नदीलाई पुरानै स्थानमा राखेको थियो । लिम्पियाधुरालाई काली नदी मुहान स्वीकार गरेको थियो । सर्भे अफ इन्डियाले तीन साता नबित्दै नवौं संस्करणको नक्सा बाहिर ल्याएको हो । भारतले नक्सालाई उलटपुलट पार्दै नेपाली भूमि अतिक्रमण गरिएको छ । सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी स्पष्ट छ ।
नागरिक दैनिकका अनुसार कोशी नदीले १२ वर्षदेखि भत्काएका नेपाल–भारत सीमास्तम्भ अझै निर्माण हुन सकेका छैनन् । कोशीले नेपाल–भारत सीमा छुट्ट्याउन सुनसरी क्षेत्रमा गाडिएका २३ सीमास्तम्भ भत्काएको थियो । सीमास्तम्भ नबन्दा दशगजा क्षेत्रमा अतिक्रमण बढ्दै छ ।
कान्तिपुर दैनिकाका अनुसार भारतको नयाँ नक्साप्रति औपचारिक विरोध गर्दै नेपालले कूटनीतिक नोट पठाएको छ । भारतले कालापानी, लिपुलेकलगात भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक रुपमा विरोध जनाएको छ ।
नेपालले बिहीबार नयाँ नक्साविरुद्ध ‘कूटनीतिक नेट’ पठाएर भारतसमक्ष विरोध जनाएको हो । भारतको गृह मन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई आफ्नो सीमाभित्र राखेर नक्सा जारी गरेको थियो ।