८८ करोड मूल्यांकन गरेको बोइङ ४८ करोडमा बेच्न टेन्डर !
-
मंसिर २४,२०७६ काठमाडौं ।
निगम आफैँले ८८ करोड मूल्यांकन गरेको बोइङ ४८ करोडमा बेच्न टेन्डर गरेको छ । चार वर्षअघिसम्म नेपाल एयरलायन्सको उडान धानिरहेको र एयरबस आएपछि पनि उडान गरेको बोइङ नेपाल वायुसेवा निगमका लागि अर्घेलो भएको छ ।
नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न थालिएको छ । निगम आफैँले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेन्डर आह्वान भएको छ ।
एयरबस आएपछि पनि उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया पठाइएको थियो । १० करोड खर्चेर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखिएको थियो ।
३२ वर्ष पुरानो बोइङ ‘गण्डकी’ बिक्री गर्न निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले गत वर्ष स्विस कम्पनी फिन्टेकका प्राविधिक बोलाएर मूल्यांकन गराएका थिए ।
फिन्टेकका प्राविधिकले बोइङको मूल्य ६४ लाख अमेरिकी डलर (७३ करोड रुपैयाँ) राख्न सिफारिस गरेका थिए । उनीहरूले ५२ लाख ९६ हजार डलर (६० करोड ३७ लाख रुपैयाँ)भन्दा कममा बेच्नै नहुने सिफारिस गरेका थिए ।
यो सिफारिस आएको एक वर्षसम्म बोइङलाई ग्राउन्डेड गरेर राखियो । र, बोइङ बिक्रीका लागि गत ११ असारमा निगमले ४५ दिने सूचना जारी गर्यो । निगमले सूचना निकाल्दा बोइङको मूल्य ७६ लाख ७६ हजार अमेरिकी डलर (करिब ८८ करोड) निर्धारण गरेको थियो ।
तर, आवेदन नपरेको भन्दै निगमले चार महिनापछि २६ कात्तिकमा सोझै ४५ प्रतिशत मूल्य घटाएर दोस्रो सूचना जारी गर्यो । जसअनुसार बोइङको मूल्य ४२ लाख ५० हजार अमेरिकी डलर (४८ करोड ५० लाख रुपैयाँ) कायम भएको छ ।
तर, एकैपटक ४० करोड मूल्य घटाउँदा निगमले स्वतन्त्र अध्ययन गराएको छैन, सोझै सञ्चालक समितिले निर्णय गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।