भिजिट भिसामा विदेश जानेहरूलाई अब अध्यागमन विभागले नरोक्ने
-
मंसिर २७,२०७६ काठमाडौं ।
भिजिट भिसामा विदेश जानेहरूलाई अब अध्यागमन विभागले नरोक्ने भएको छ । जोखिमपूर्ण देशमा जाने महिलाहरूलाई भने शंका लागेमा रोक्न पाउने भएको छ ।
भिजिट भिसाको नाममा काम गर्न जाने आशंकामा अध्यागमनले फर्काउँदा घुम्न र व्यापारिक कामले विदेश जानेसमेत मर्कामा पर्दै आएका थिए ।
नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकार हनन भएको गुनासो बढेपछि तीन सातायता अध्यागमगनले भिजिट भिसामा जानेहरूलाई सहजै प्रस्थान अनुमति दिन थालेको छ ।
पर्यटक भिसामा विदेश जाने नाममा मानव तस्करी हुने भएकाले अध्यागमनले शंकास्पद व्यक्तिहरूलाई रोक्दै आएको थियो । तर, तोकिएअनुसार कागजपत्र बोकेका पुरुषहरूलाई अब नरोकिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।
पासपोर्ट, भिसा, दुईतर्फी टिकट, स्पोन्सर लेटर वा एक हजार अमेरिकी डलर र होटेल बुकका कागजपत्र देखाएको अवस्थामा अध्यागमनले नरोक्ने जनाएको छ । विगतमा हरेक दिन १०-१२ जनालाई कागजपत्र हुँदा पनि शंकास्पद लागेको भन्दै अध्यागमनले फर्काउने गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।