Trending :
 

स्थायी समिति छाडेर नेताहरु राष्ट्रपतिकहाँ ‘लन्च’ खान गएपछि...

पौष ०६,२०७६

-

पुस ६,२०७६ काठमाडौं
सत्तारुढ नेकपाको स्थायी समिति बैठक जारी रहेकै वेला राष्ट्रपति विद्या भण्डारीले झन्डै एकचौथाइ नेताहरूलाई सरकारी निवासमा बोलाएर छलफल गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर ११ नेतालाई ‘लन्च’ खुवाएको घटनाले नेकपा बैठकमा नेताहरूबीच भनाभनसमेत भएको छ ।
राष्ट्रपतिको लन्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए । 
बिहान ११ बजे धुम्बाराहीमा सुरु भएको स्थायी समिति बैठकमा १० जना नेताहरू एक घण्टा ढिलो हुल बाँधेर प्रवेश गरेपछि अध्यक्ष प्रचण्डले जिज्ञासा राखेका थिए ।
‘यहाँ पार्टीको बैठक चलिरहेको छ, तपाईंहरू कहाँ हराउनुभएको थियो ?’, प्रचण्डको प्रश्न उधृत गर्दै स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘तपाईंहरू किन जानुभएको थियो ? के कुरा भयो, बैठकलाई जानकारी गराउनुस ।
हामी विधि र प्रक्रियाका कुरा गर्छौं तर तपाईंहरू अध्यक्षलाई जानकारी नै नगराई बैठकमा ढिला आउनुहुन्छ ।’
प्रचण्डको जिज्ञासापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वनिर्धारित भेटघाटका लागि आफूहरू राष्ट्रपतिकहाँ गएको जवाफ दिएका थिए ।
बैठक ११ बजे हुने भएपछि हामी ९ बजे पुगेका थियौं । खाना खाएर आउन लागेकाले ढिला भयो’, प्रदीप ज्ञवालीको भनाइ उधृत गर्दै एक नेताले भने । 
ज्ञवालीको भनाइको लगत्तै भीम रावल, रघुजी पन्तलगायत नेताहरूले पार्टी बैठकको बीचैमा राष्ट्रपतिकहाँ जानु आपत्तिजनक भएको भन्दै प्रतिवाद गरेका थिए ।
‘पार्टीको मिटिङ चलिरहँदा तपाईंहरू राष्ट्रपतिकहाँ जान मिल्छ ? यो आपत्तिजनक विषय हो,’ रावलले भनेका थिए, ‘राष्ट्रपतिकहाँ तपाईंहरूको के बैठक थियो ?’
बैठकमा अरु नेताहरूले पनि आपत्ति जनाउँदै हो–हल्ला गरेको र भनाभन भएको नेता वेदुराम भुसालले जनाए ।
रावललाई जवाफ दिँदै ज्ञवालीले भनेका थिए, ‘राष्ट्रपतिकहाँ हामी जानै नहुने ? राष्ट्रपतिजस्तो सम्मानित संस्थाबारे प्रश्न उठाउन मिल्छ ? राष्ट्रपतिसँग भेटलाई पार्टीमा छलफलको विषय बनाउन मिल्छ ?’ आजको नयाँ पक्रिका दैनिकमा खबर छ ।