Trending :
 

बलात्कारका अभियुक्त गाउँ फर्केर भोजभतेर गरे,पीडित गाउँबाट आँसु बोकेर विस्थापित भईन् !

पौष २३,२०७६

-

पुस २३, २०७६ काठमाडौं ।
 
बलात्कारपछि भारतको दिल्लीमा बेचिएकी नेपालगन्जकी २२ वर्षीया अनिशा शर्मा (नाम परिवर्तन) तब झस्किइन, जब उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासले जिल्ला अदालत बाँकेको आदेश उल्ट्याएर घटनाका अभियुक्तलाई एक-एक लाख धरौटीमा छाड्न आदेश दियो । आदेशलगत्तै अभियुक्त निजामुद्दिन साँई र मुवारक नाउ जेलमुक्त भए । उनीहरूले गाउँ फर्किएर भोजभतेर गरे ।
 
पीडित भने गाउँबाट विस्थापित हुनुपर्यो । निजामुद्दिन र मुवारकका परिवारले निरन्तर ज्यान मार्ने धम्की दिएपछि उनी माइतीको शरणमा पुगिन । पीडा भुल्ने कोसिस गरिन, तर सकिनन । माइती पक्षसँग सल्लाह गरिन । ढाडस पाएपछि न्यायको लडाइँ लड्न सर्वोच्च अदालतको दैलोमा जाने निर्णयमा पुगिन । दोषीलाई कानुनी कठघरामा उभ्याउने अठोटसहित तीन दिनअघि उनी नेपालगन्जबाट बस चढेर काठमाडौं आएकी छिन ।
 
काठमाडौंको एक गेस्टहाउसमा गोप्य रूपमा बसेकी उनलाई निजामुद्दिन र मुवारकका परिवारबाट धम्की रोकिएको छैन । मुद्दा बोकेर काठमाडौं हिँडेलगत्तै घटनाका प्रतिवादी पनि आएको सूचना पाएपछि उनी झन् डराएकी छिन ।
 
‘जबर्जस्ती करणी मात्र होइन, मानव बेचबिखनजस्तो जघन्य अपराधमा उच्च अदालत नेपालगन्जले धरौटीमा अभियुक्त छाड्यो । पुर्पक्षमा रहेका उनीहरू कैदमुक्त भए । यसले साह्रै पीडा दियो । न्याय माग्न सर्वोच्च अदालत जानुको हामीसँग विकल्प भएन । पीडितले न्याय पाउने आशा बोकेर हामी नेपालगन्जदेखि काठमाडौं आएका छौँ । हेरौँ अब के हुन्छ,’ पीडितका मामाले भने ।
 
घटना १३ कात्तिकको हो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार नेपालगन्ज फुलटेक्रा आँखा अस्पतालमा आँखाको उपचार गराएर अनिशा श्रीमानसँग साइकलमा घर फर्किँदै थिइन । घरनजिकै आइपुगेपछि श्रीमान् खेततिर लागे । आफू सरासर घर आइन । धान काट्ने चटारो भएकाले घरमा कोही थिएनन । बुर्का फेर्न कोठामा छिरिन । लगत्तै कोठामा दुई युवा छिरे । फर्किएर हेर्दा छिमेकी निजामुद्दिन साँई र मुवारक नाउलाई देखिन । निजामुद्दिन र मुवारकले उनलाई धम्क्याउँदै धनमाल बुझाउन भने । निर्देशनअनुसार गलाका गहना खोलेर टक्र्याइन । बाकसका गहना पनि झिकेर सुम्पिइन । भएजति पैसा पनि दिइन ।
 
अब त छाडिदिने आसमा थिइन् अनिशा । तर, दुई युवाले आफूहरूसँगै जानुपर्ने दबाब दिए । इन्कार गरेपछि बलजफ्ती मुखमा रुमाल कोचिदिए । हातखुट्टा बाँधेर बाहिर निकाले । मोटरसाइकलमा राखेर भारतको रुपैडियातिर लगे । बाटोमा केहीबेर बिस्कुट खान दिए, तिर्खा मेट्न भन्दै पेप्सी पनि दिए । बिस्कुट र पेप्सी खाएपछि उनी बेहोस भइन ।
 
भोलिपल्ट बिहान उनले आफूलाई ट्याक्सीभित्र पाइन । ट्याक्सीमा अपरिचित एक व्यक्ति उनीनजिकै बसेका थिए । चालक पनि थिए । आत्तिएकी उनले आफूलाई लिएर आउने दुई युवाबारे सोधिन । एक लाख भारुमा बेचेर उनीहरू हिँडेको ट्याक्सीका व्यक्तिले जवाफ दिए । उनलाई ट्याक्सीमै राखेर एउटा घरमा लगेर कोठामा थुने । दुईजनाले बलात्कार गरे । रातभर रोएर बसेकी उनलाई भोलिपल्ट एक भारतीय महिलाको जिम्मा लगाएर अपरिचित व्यक्ति पनि हिँडे । याचना गरेपछि ती महिलाले घरमा सम्पर्क गर्न अनिशालाई फोन दिइन । त्यही फोनबाट अनिशाले बुबालाई फोन गरिन । भारतीय महिलाले दिएको ठेगानाअनुसार अनिशाका बुबाले दिल्लीमा रहेका आफन्तलाई खबर गरेर उद्धारमा खटाए । १७ कात्तिकमा उद्धार गरेर नेपाल ल्याइयो ।
 
अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय बाँकेले अभियुक्त निजामुद्दिन र मुवारकविरुद्ध मानव बेचबिखन, जबर्जस्ती करणी, डाँका र अपहरणअन्तर्गत सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरायो । सोही मुद्दाका आधारमा जिल्ला अदालत बाँकेले दुवैलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उनीहरू थुनामा गए । तर, जिल्ला अदालतको आदेश बदरको माग गर्दै अभिुक्तका परिवार उच्च अदालत नेपालगन्ज पुगे । गत १० पुसमा उच्चका न्यायाधीशद्वय पवनकुमार शर्मा र ऋषिप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालत बाँकेको आदेश उल्टाउँदै दुई अभियुक्तलाई एक–एक लाख धरौटीमा छाड्ने आदेश दियो ।
 
उच्च अदालत नेपालगन्जका रजिस्ट्रार कृतबहादुर बोहराले आदेशबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘मुद्दा धेरै हुन्छन । कुन मुद्दामा के आदेश हुन्छ कसरी भन्न सकिन्छ रु तपाईंको कोही प्रतिनिधि छन् भने कार्यालय समयमा लेखिपठाउनुस् । दिन मिल्ने विवरण लेखिपठाइदिउँला ।’
 
घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव सिंहले घटनाको विस्तृत अनुसन्धान गर्दा ती महिलालाई बलात्कारपछि बेचिएको विवरणबाट देखिने बताए । उनले भने, ‘घटना सम्बन्धमा हामीले गहन अनुसन्धान गर्यौँ । महिलामाथि बलात्कार भएको देखिन्छ । लगेर दिल्लीमा बेचिएको पनि पुष्टि हुन्छ । सोही कारण हामीले चारवटा मुद्दा बनाएर अदालतमा पेस गर्यौ । जिल्ला अदालतले त अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाएको हो । उच्चले भने छाडेको भन्नेसम्म मैले सुनेको हुँ । यस सम्बन्धमा के भएको हो थाहा भएन ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।