Trending :
 

सभामुख चयनमा प्रधानमन्त्री ओलीको अडानले प्रचण्ड अप्ठ्यारोमा

पौष २७,२०७६

-

पुस २७,२०७६ काठमाडौं ।
 
प्रतिनिधिसभाको सभामुख चयनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । ओली सरकार सञ्चालनमा सहयोग पुग्नेगरी आफूले चाहेको पात्रलाई नै सभामुख बनाउने अडानमा छन् । 
 
बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि सभामुख चयनबारे कुनै छलफल हुन सकेन ।
 
उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेर मात्रै उक्त बैठक टुङ्गियो । ओली मिर्गौला डायलाइसिस गराएर आरम गरिरहेका कारण बैठकमा उपस्थित नभएका हुन् । 
 
बैठकमा कार्यकारी अध्यक्ष दाहालले ओलीकै सहमतिमा उपसभामुखलाई पदबाट राजीनामा दिन आग्रह गर्ने प्रस्ताव गरिएको स्पष्ट पारे । नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पनि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ । उपसभामुख पदबाट उनले राजीनामा नदिए नेकपाले सभामुख पद गुमाउन सक्छ । नागरिक दैनिकमा खबर छ ।