Trending :
 

छाउपडी कुप्रथाः १० वर्षमा १४ किशोरीको मृत्यु

पौष २७,२०७६

-

पुस २७,२०७६ काठमाडौं ।
 
छाउपडी कुप्रथाका कारण १० वर्षमा १४ किशोरीको मृत्यु भएको छ ।  महिनावारी हुँदा घरभन्दा टाढा एकान्तमा बनाइएको छाउगोठमा एक्लै बस्नुपर्दा अछाममा कयौं किशोरी र महिलाले छाउगोठमा मृत्युवरण गर्नुपरेका कहालीलाग्दा कथा छन्। 
 
अरूतिर महिनावारी हुँदा घरभित्रै अलग बस्ने चलन भए पनि सुदूरपश्चिमका अछामलगायत दुर्गम बस्तीका महिलाहरू एकान्तमा बनाइएको छाउगोठमा बस्ने कुप्रथा छ। यी छाउगोठ महिनावारी भएका बेला वास बस्ने महिलाका लागि ज्यानमारा धरापसरह थिए। 
 
विषालु सर्प हुने, फोहोरले विभिन्न रोगको संक्रमण भएर र न्यानो ओढ्ने लुगा नहुँदा जाडोले र आगोको धुवाले निसासिएर कयौं महिलाको अकालमै मृत्यु भएको स्थानीय बताउँछन्। 
 
जिल्ला प्रहरी कार्यालय तथा महिला विकास शाखा अछामका अनुसार अछाममा १० वर्षयता छाउगोठमा किशोरी तथा महिला गरी १४ जनाको मृत्यु भइसकेको छ। 
 
छोरी, बुहारी, दिदी–बहिनीको महिनावारी भएको बेला गोठमै मृत्यु हुँदासमेत अधिकतम महिलाहरू गोठमै सुत्ने गरेका थिए। परिवारको सदस्य गोठमै गुमाउनुपरेको पीडा बोक्दै किशोरी तथा महिलाहरू आफ्नोसमेत ज्यान जोखिममा राखेर गोठमै बसिरहेका हुन्। 
 
सरकारको निर्देशनपछि २०६२ सालमा कुरीति घोषणा गर्दै छाउपडी प्रथा उन्मुलनसम्बन्धी निर्देसिका २०६४ समेत जारी गरिएको थियो। सरकारले कुरीति घोषणा गरेको ११ वर्ष भइसक्दासम्म पनि छाउपडी प्रथा पूरै हट्न सकेको थिएन। 
 
राष्ट्रसंघको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा–पत्रमा, नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३ महिला अधिकारमा धार्मिक, सामाजिक, प्रचलन वा अन्य कुनै कारणले महिलामाथि हिंसा तथा भेदवाव गर्न नपाइने व्यवस्था गरिएको छ।  
 
यतिबेला अछामलगायत सुदूरपश्चिमका सबैतिर छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ। सबैभन्दा बढी अछाममा छाउगोठ रहेका छन्। अहिलेसम्म अछाममा एक हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताएका छन्। नागरिक दैनिकमा खबर छ ।