छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर

पौष २८,२०७६

-

पुस २८,२०७६ काठमाडौं ।
महिलालाई छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर भएको छ । महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ ।
 
प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको तस्तै छ । त्यसैले महिनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन् । 
 
कतिपयले त भत्काइएका छाउगोठ बनाउन थालेका छन् । आइतबार नयाँ पत्रिका टोली पुग्दा अछामको तुर्माखाँद गाउँपालिका-५ धाङ्टाकी कला विक भत्काइएको छाउगोठ मर्मत गर्दै थिइन् । शनिबार महिनावारी भएकी उनी ‘देउता रिसाउने’ डरले घरभित्र पसिनन्, भत्काएकै छाउगोठमा रात बिताइन् । 
 
मर्मत गर्दै गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर उनको मनमा छ । ‘बाहिर बस्दा सरकारको डर छ, भित्र देवी–देउताको,’ कलाले भनिन्, ‘महिनावारी हुँदा सधैँ छाउगोठमै बस्यौंँ, अहिले कसरी भित्र छिर्नु?’ खरले छाएको दुईकोठे घरमा कला तीन नाबालक छोरासँगै बस्छिन् । 
 
श्रीमान् रोजगारका क्रममा भारतमा छन् । चाडबाडका वेला मात्रै फर्किन्छन् । निरक्षर कला महिनावारी हुँदा घरभन्दा केही पर बनाइएको छाउगोठमा बस्नु परम्परादेखि चल्दै आएको ‘सामाजिक संस्कार’ हो भन्ने बुझ्छिन् । छाउगोठमा बसेको पाइए कारबाही गर्ने भनिएकाले पक्राउ परिएला कि भन्ने डर पनि उनमा देखिन्छ । 
 
तुर्माखाँदको जस्तै छाउगोठ भत्काउने अभियान अछामका सबै स्थानीय तहले चलाएका छन् । गत मंसिरमा साँफेबगर नगरपालिकाकी पार्वती बुढाको छाउगोठमै मृत्यु भएपछि ९ पुसदेखि जिल्लाभर छाउगोठ भत्काउने अभियान सुरु भएको हो । 
 
अहिलेसम्म जिल्लाभर एक हजार ६ सय छाउगोठ भत्काइएका छन् । तर, महिला हिंसाको चरम रूप छाउपडीबारे ग्रामीण महिलाहरूको बुझाइ यति रुढीवादी छ कि उनीहरू नै महिनावारी भएका वेला भित्र बस्न तयार छैनन् । छाउगोठ बस्नुलाई उनीहरू ‘संस्कार भन्ने बुझ्छन् । 
नयाँ पत्रिका दैनिकमा खबर छ ।