तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन नसक्ने

पौष २९,२०७६

-

पुस २९,२०७६ काठमाडौं ।
 
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारवाही गर्न नसक्ने अवस्था देखिएको छ ।
 
उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा बाहिर छिन् । भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उनले नचाहेसम्म उपसभामुख पद जाने सम्भावना छैन ।
 
नेकपाले राजीनामा गर्न दिएको निर्देशन उनले नमानेपछि उब्जिएको प्रश्न हो -पार्टीले उनलाई कारवाही गर्न सक्छ? सांसद पदबाट निकाल्न सक्छ ? कानुनले भन्छ- उपसभामुख भएपछि दलको साधारण सदस्य पनि नरहेकी उनीमाथि पार्टीले कारवाही गर्न सक्ने अवस्था छैन । 
 
राजनीतिक दलसम्बन्धी ऐनले पार्टीले लगाएको ह्वीप उल्लङ्घन गरेको अवस्थामा पनि सभामुख, उपसभामुखलाई कारवाही गर्न नसकिने व्यवस्था गरेको छ । 
 
संविधानमा व्यवस्था भएको ‘पदीय आचरण अनुकूल’ को काम नगरेको भन्ने व्यवस्थाअन्तरगत उनलाई उपसभामुखबाट हटाउन प्रतिनिधिसभाको दुई तिहाइ मतबाट मात्र सम्भव छ तर यसका लागि नेकपाको एकल दुई तिहाइ छैन ।
 
त्यसमाथि उनले पद अनुकूल आचरण नगरेको ठोस आधारसमेत छैन । यी सबै कानुनी प्रावधान बुझेकाले नै हुनसक्छ तुम्बाहाङ्फेले भन्दै आएकी छिन्, ‘राजीनामा दिन्नँ मलाई महाभियोग लगाएर हटाउनुहोस् ।’कान्तिपुर दैनिकमा खबर छ ।