५ वर्षमा वैदेशिक रोजगारीको खोजीमा रहेका ९ हजार श्रमिक ठगीए

पौष २९,२०७६

-

पुस २९,२०७६ काठमाडौं ।
रमेश भारती
वैदेशिक रोजगारीका क्रममा देश-विदेशमा धेरै कामदार म्यानपावर कम्पनी र तीनैका प्रतिनिधि एजेन्टमार्फत ठुलो रकम वार्षिक रुपमा ठगीदै आएका छन् ।
 
विगत ५ वर्षको अवधिमा रोजगारीको खोजीमा रहेका ८ हजारभन्दा धेरै श्रमिकसँग म्यानपावर कम्पनी र तिनका एजेन्टले ३ अर्बभन्दा धेरै आर्थिक ठगी गरेको विगो दावीसहित उजुरी वैदेशिक रोजगार विभागमा रोजगारपीडितले दर्ता गराएका छन् ।
 
५ वर्षको अवधिमा ८ हजार ७ सय ८४ जना युवासँग म्यानपावर तथा एजेन्टले संस्थागत र व्यक्तिगत गरी ३ अर्ब ७० करोड ९४ लाख ४७ हजार रुपैयाँ वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको उजुरी आएको विभागको मुद्धा शाखाले जानकारी दिएको छ ।
 
सो अवधिमा विभागले करिब ७० करोड पीडितलाई क्षतिपूर्ति भराउन सफल भएको विभागको तंथ्याकमा छ । विगत ५ वर्षमा २ हजार ३ सय ८६ वटा उजुरी फरफराक गरी विगो भराएको विभागले जानकारी दिएको छ । हाल पनि २ हजारभन्दा धेरै रोजगार पीडितका मुद्धा विचाराधीन अवस्थामा छन् ।
 
आर्थिक वर्ष २०७२र७३ मा व्यक्तिगत र संस्थागत गरी २ हजार १ सय ७२ वटा उजुरी विभागमा रोजगारीपीडितले म्यानपावर र एजेन्टबाट ठगीएको भन्दै दर्ता गराएको विभागको तंथ्याकमा छ ।
 
जसमा ५ सय २० वटा उजुरी मात्र फरफराक गर्ने विभाग सफल भएको थियो । यो आर्थिक वर्षमा रोजगारपीडितले ६९ करोड ५० लाख ९६ हजार ५ सय विगो दावी गरेपनि विभागले १० करोड ३६ लाख ७८ हजार ८५ रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराएको विभागले जनाएको छ ।
 
यसैगरि आर्थिक वर्ष २०७३/७४ मा २ हजार ३ सय ८३ वटा मुद्दा रोजगारपीडितले आफु रोजगारीका नाममा ठगीएको भन्दै विभागमा उजुरी दर्ता गराएको पाइन्छ । जसमा ८ सय ८७ वटा उजुरी फरफराक भएका थिए ।
 
७५ करोड ७८ लाख ४१ हजार ८ सय विगो दावीसहित पीडितले उजुरी दर्ता गराएपनि १५ करोड ९४ लाख १७ हजार ८ सय ८ रुपँयाँ विगो क्षतिपूर्ति पीडितलाई भराएको विभागको तंथ्याकमा छ ।
 
यस्तै, आर्थिक २०७४/७५ मा २ हजार १ सय २९ वटा विभागमा ठगीका उजुरी परेका थिए । जसमा १ हजार २८ वटा मुद्दा फरफराक गरेको विभागले जानकारी दिएको छ । यो आर्थिक वर्षमा १ अर्ब ५२ करोड २० लाख ७१ हजार २ सय ५५ रुपँयौ विगोदावी पीडितले गरेका थिए । जसमा २० करोड १९ लाख ९४ हजार ८ सय रुपँयाँ विगो पीडितलाई क्षतिपूर्ति विभाग सफल भएको थियो ।
 
यस्तै, विभागका अनुसार आव २०७५/७६ मा १५ करोड ८४ लाख ठगी भएको जनाएको छ । विगतका वर्षमा भन्दा यो वर्ष कम ठगी भएको विभागको दाबी छ । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । चालु आर्थिक वर्षको ५ महिनामा करिब २० करोडभन्दा धेरै ठगीका मुद्दा विभागमा दर्ता भएका छन् ।
 
सरकारले २०७२ सालदेखि खाडीका देश र मलेसिया जाने नेपाली कामदारका हकमा फ्रि भिसा फ्रि टिकट लागू गरेको थियो । तर, ती देश जाने कामदारले फ्रि भिसा र फ्रि टिकटको लाभ लिन सकेका छैन । सरकारले निःशुल्कदर लागू गरेकै देश जाने कामदार चर्को रकम तिरेर विदेश जान बाध्य छन् ।
 
सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेको विकृति, ठगी र अन्य गतिविधि रोक्न प्रयास गरिरहेको विभागका महानिर्देशक भिष्मकुमार भुषालले बताएका छन् । वैदेशिक रोजगारीको खोजीमा रहेका तथा काम गर्ने विदेश पुगेका धेरै नेपाली युवा पीडित हुने गरेको महानिर्देशक भुषालले बताए ।