पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन थप सुधारको खाँचो:जनप्रतिनिधि

माघ ०१,२०७६

-

माघ १,२०७६ काठमाडौं ।
जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन थप सुधारको खाँचो रहेको औल्याएका छन् ।
 
भक्तपुरबाट प्रकाशित हुने समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाको १५औं वर्ष प्रवेश कार्यक्रमका सहभागि जननिर्वाचित प्रतिनिधिसभा सांसद, प्रदेशसभा सांसदहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायिक, मर्यादित र उत्तरदायि बनाउन सुधारको खाँचो औल्याएका हुन् ।
 
बार्षिक उत्सव कार्यक्रममा प्रतिनिधिसभा सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले पछिल्लो समयमा पत्रकारिता क्षेत्र सशक्त र प्रभावकारी बन्दै आइरहेको बताउनुभयो ।
 
उहाले पत्रकारिता पेशाबाटै पत्रकारहरुको सहज जीवनयापन गर्ने अवस्था बनि नसकेको भन्दै पत्रकारितामा सुधार आवश्यक रहेको बताउनुभयो । 
 
सांसद बस्नेतले पत्रकारहरु समाज र राष्ट्रप्रति उत्तरदायी र जिम्मेवार रहेकाले पत्रकारहरु व्यवसायिक बन्नुपर्ने र यसका लागि प्रकाशन गृह र सरकारको तर्फबाट पत्रकारहरुलाई व्यवसायिक बनाउने कार्य योजना ल्याउनुपर्ने बताउनुभयो । 
 
कार्यक्रममा बागमती प्रदेशका सांसद राजेन्द्रमान श्रेष्ठले आम सञ्चारका बिभिन्न माध्यमहरुबाट आज सहज रुपमा समाचार र जानकारीहरु तत्काल प्राप्त गर्ने अवस्था बिद्यमान हुँदाहुँदै यसको विश्वशनियतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुन थालेकाले विश्वसनिय पत्रकारिताको विकास गर्नु आवश्यक रहेको औल्याउनुभयो । 
 
अर्का बागमती प्रदेश सांसद शशिजंग थापाले पत्रकारिता पेशाप्रतिको आकर्षण बढ्दै गइरहेको तर, प्रकाशन गृह र पत्रकारहरु व्यवसायिक बन्न नसक्दा मर्यादित पत्रकारिता थप प्रभावकारी हुन नसकेको बताउनुभयो । 
 
प्रदेश सांसद सरस्वती बाटीले पत्रकारिताले सामाजिक रुपान्तरणमा मात्र नभै एउटा आम मानिसको जीवन रुपान्तरणका लागि समेत भूमिका खेलिरहेका कारण यसको विश्वसनियतामा आँच आउन दिन नहुनेमा जोड दिनुभयो ।