उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात चल्ने

बैशाख १४,२०८१

-आस्था न्यूज

वैशाख १४, २०८१  काठमाडौं ।
निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।
 
वैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदैछ।
 
सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले सेतोपाटीलाई बताए।
 
आयोगको शुक्रबार बसेको बैठकले उपनिर्वाचनका दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो। आयोगले उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिन गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिएको छ।
 
‘सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनका लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने’ आयोगको निर्णय छ।
 
विगतमा निर्वाचनका दिन सार्वजनिक यातायात चल्न रोक लगाइन्थ्यो।