लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारले चासो नदेखाएको प्रति विज्ञको चिन्ता

माघ ०४,२०७६

-

माघ ४,२०७६ काठमाडौं ।
 
अनुसार लिम्पियाधुरा लगायत नेपाली भूभागमा समेटिएको नक्सा जारी गर्न सरकारलाई चौतर्फी दबाब छ । तर, त्यसप्रति सुरसारै नदेखिएपछि विज्ञले चिन्ता व्यक्त गरेका छन् । संसदीय समितिले पनि  लिम्पियाधुरासहितका भूभाग समेटेर नक्सा जारी गर्न निर्देशन दिएपनि सरकारले छाप्न आँट गरेको छैन । 
 
प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित सीमा अभियन्ता सम्मिलित सर्वपक्षीय भेलाले नेपालको नक्सा सच्याउने प्रतिबद्धता जनाएको थियो । भारतले भने १४ दिनमै दुईवटा नक्सा बनाएको छ । उसले गत कात्तिक १६ मा कालीनदीसहितको नक्सा जारी गरेको थियो भने नेपालमा हल्लीखल्ली मच्चिएपछि भारतले काली नदी हटाएर नक्सा सच्याएको थियो । 
 
त्रिभुवन विश्वविद्यालयका भूगोल विभागका पूर्वप्रमुख प्रा.डा. नरेन्द्रराज खनालले तत्काल लिम्पियाधुरासहित नक्सा प्रकाशन गरी कूटनीतिक र राजनीतिक पहल गर्न सुझाव दिएका छन् । नेपालले अढाई महिना बित्दापनि नक्सा छपाईको सुरसार नगर्नु दुर्भाग्यपूर्ण रहेको उनी बताउँछन् । ‘भारतले जतिखेर पनि नेपाली भूभाग मिचेको नक्सा जारी गर्न सक्छ तर नेपालले किन सक्दैन?’, उनी भन्छन् । अन्नपूर्ण पोस्ट्मा खबर छ ।