प्रदेश २ मा राष्ट्रियसभा चुनावको सरगमी बढ्यो
-
माघ ५,२०७६ काठमाडौं ।
राष्ट्रियसभा चुनावले प्रदेश २ मा सरगमी बढाएको छ । प्रदेशमा सरकार चलाइरहेका समाजवादी पार्टी र राजपा प्रदेशसभाका विपक्षी दलसँग अलग-अलग गठबन्ध बनाएर चुनावी प्रचारमा होमिएका छन् । नेकपा–राजपा गठबन्धनमा बहुमत रहे पनि काँग्रेस-समाजवादी गठबन्धनसँग फराकिलो मतान्तर छैन ।
त्यसैले नेकपा-राजपा आफ्नो मत सुरक्षित राख्ने प्रयत्नमा देखिन्छन् भने अर्को गठबन्धन मतदाता खोस्ने दाउमा छन् । प्रदेशगत रुपमा हुने राष्ट्रियसभा चुनावमा प्रदेशसभाका सदस्य नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।
यसअघि प्रदेश २ बाट निर्वाचित राष्ट्रियसुभाका ८ जनामध्ये चारजनाको दुई वर्षे कार्यकाल सकिन लागेकाले माघ ९ गते निर्वाचन हुँदै छ । बाँकी ६ वटा प्रदेशमा पनि रिक्त हुन लागेका १४ पदका लागि त्यही दिन निर्वाचन हुने हो । अन्य प्रदेशमा नेकपाको सहज बहुमत छ ।
प्रदेश दुईमा नेकपा र राजपाको गठबन्धनको मतभार ५ हजार २०२ र काँग्रेस र समाजवादी गठबन्धनको मतभार ४ हजार ७४६ रहेको छ । अन्यको मतभार ८४ रहेको छ । कान्तिपुरमा खबर छ ।