Trending :
 

सर्लाहीका साहुकार रामबाबु रायले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको खुलासा

माघ १९,२०७६

-

माघ १९, २०७६ काठमाडौं । 
 
सर्लाहीका साहुकार रामबाबु रायले २८ ऋणीबाट मात्रै २० करोड ठगी गरेको प्रहरी अनुसन्धानमा भेटिएको छ । अर्का साहुकार सञ्जय रौनियार फरार रहेकाले डरकै कारण सातजनाको मात्रै उजुरी परेको छ ।
 
पक्राउ गरेपछि उजुरी बढ्न सक्ने भन्दै उनीविरुद्धको अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।  तर, २२ दिन लामो अनुसन्धानपछि प्रहरीले दुवैको मुद्दा भने तीन दिनभित्रै अदालतमा दर्ता गर्ने तयारी गरेको छ ।
 
साहुकार रायले मात्रै २८ जनासँग २० करोड ठगी गरेको भेटिएको छ । तर, रौनियारविरुद्ध सातजनाको मात्रै उजुरी परेको छ । उनी फरार रहेकाले डराएर उजुरी कम आएको हुन सक्छ, उनको हकमा अझै अनुसन्धान हुन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वमणि पोखरेलले भने ।
 
सोमबारसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गर्ने तयारी भएको उनले बताए । साहुकारले ऋण दिँदा धितो राखेको ऋणीको जग्गा रजिस्ट्रेसन नै पास गरेर हडपेका छन् । 
 
नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि २३ पुसमा प्रहरीले सर्लाहीकै हरिपुरबाट रायलाई पक्राउ गरेको थियो । भेष बदलेर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । उनी हिरासतमा छन् । फरार रौनियार विहारको सीतामढीमा लुकेको सूचना प्राप्त भएको एसपी पोखरेलले बताए ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।