Trending :
 

बाजुराको कोल्टी क्षेत्रमा ‘सिजनल फ्लु’ भनिने भाइरलको संक्रमण

माघ २३,२०७६

-

माघ २३,२०७६ काठमाडौं ।
बाजुराको कोल्टी क्षेत्रमा ‘सिजनल फ्लु’ भनिने भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ। एक साताअघि देखिएको संक्रमणका कारण स्वामी कार्तिक खापर गाउँपालिका-१ जोरु साप्पाटामा दुईजनाको मृत्यु भइसकेको छ। 
 
मृत्यु हुनेमा ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावल रहेको वडाध्यक्ष जनकबहादुर रोकायाले बताए। कडाराको मंगलबार साँझ र रावलको बुधबार बिहान ज्यान गएको हो। उक्त गाउँमा बिरामीको संख्या दिनानुदिन बढिरहेको छ। 
 
मृतक कडाराकै घरमा पाँचजना संक्रमित रहेको साप्पाटा स्वास्थ्य चौकीका इन्चार्ज विर्ज विकले बताए। विकको नेतृत्वमा स्वास्थ्य कर्मीको टोली बिहानैदेखि उपचारमा खटिएको छ। तत्काल उपचार नपाउँदा र रोग लुकाउने गर्दा दुईजनाले ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ। 
 
स्वामी कार्तिक खापरमा भाइरल ज्वरो फैलिनुभन्दा केही दिनअघि नै हिमाली गाउँपालिका–६ बोल्डिकमा संक्रमण फैलिएको थियो। भाइरल ज्वरोकै कारण दुईजनाको ज्यान गएको भनिए पनि प्रमाणित भने भइनसकेको स्वास्थ्यकर्मीको भनाइ छ। 
 
ल्याब परीक्षणको रिपोर्ट आएपछि मात्र मृत्युको कारण यकिन हुने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। जिल्लाको कोल्टी क्षेत्रका स्वामी कार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानमा भाइरल ज्वरोको संक्रमण देखिएको हो। 
 
सोही ज्वरोका कारण अढाइ सयभन्दा बढीमा संक्रमण देखिएको बताइएको छ। हिमाली गाउँपालिकामा मात्रै संक्रमितको संख्या दुई सयभन्दा माथि छ। नागरिक दैनिकमा खबर छ ।