Trending :
 

चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्रमा राखिने

माघ २३,२०७६

-

माघ २३,२०७६ काठमाडौं ।
चीनबाट फर्काइने नागरिक राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्र छनोट गरिएको छ । 
 
मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजनमा बुधबार सिंहदरबारमा बसेको बैठकले खरिपाटीको तालिम केन्द्र छनोट गरी प्रधानमन्त्री केपी ओलीलाई प्रस्ताव गरेको हो । 
 
प्रस्तावमा समर्थन जनाएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने जवाफ दिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले खरिपाटीको विद्युत् प्राधिकरणको तालिम केन्द्र सबैको रोजाइमा परेको, तर मन्त्रिपरिषद्बाट औपचारिक निर्णय हुन बाँकी रहेको बताए ।
 
चार–पाँचवटा सम्भावित स्थानबारे छलफल भयो, तीमध्ये सुरक्षित खरिपाटी तालिम केन्द्र नै भएको निष्कर्ष निकालिएको छ,’ मन्त्री ढकालले नयाँ पत्रिकासँग भने । मन्त्रिपरिषद्ले क्वारेन्टाइनबारे निर्णय गरेपछि चीनबाट नागरिक फर्काउने प्रक्रिया औपचारिक रूपमा सुरु हुने सैनिक स्रोतले जनाएको छ ।
 
हुबेई प्रान्तका ६ स्थानका एक सय ८० नेपालीले स्वदेश फर्किनका लागि बेइजिङस्थित नेपाली दूतावासमा फारम भरिसकेका छन् । उनीहरू सबैलाई एकै स्थानमा राख्ने गरी सरकारी अधिकारीले कार्ययोजना बनाएका छन् । १९ वटा मात्रै कोठा खाली रहेको भन्दै मंगलबार उक्त तालिम केन्द्रमा प्रतिकोठा तीनजनाका दरले ५७ जना मात्रै राख्न सकिने निष्कर्ष निकालिएको थियो । 
 
तर, सबै कोठा खाली गर्दा वुहानबाट ल्याइने सबै अटाउने देखिएपछि सेनाले बुधबार यही तालिम केन्द्र प्रस्ताव गरेको हो । रक्षा मन्त्रालयको समन्वयमा उनीहरूको उडान, उपचार, सुरक्षा र खाने–बस्ने बन्दोबस्तको व्यवस्था गरिएको छ ।
 
१४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर फर्काउने योजना बनाइएको छ । यसअघि सेनाको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तामिल केन्द्रलाई पनि सम्भावित क्वारेन्टाइनका रूपमा प्रस्ताव गरिएको थियो ।
 
मन्त्रिपरिषद्को औपचारिक निर्णयबाट क्वारेन्टाइन टुंगिएको एक साताभित्र चीनबाट नागरिक ल्याउने र सुरक्षित राख्ने वचन सेनाले दिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सुरक्षाको सबै जिम्मा सेनाले लिएको छ । औपचारिक निर्णय भएर खबर गरेको तीन दिनपछि जहाज उडाउन सक्ने जानकारी नेपाल एयरलाइन्सले मुख्यसचिवलाई गराएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।