Trending :
 

श्रम सम्झौता कार्यान्वयनमा आएसँगै मलेशिया जाने कामदारको संख्यामा बढोत्तरी

माघ २४,२०७६

-

माघ २४,२०७६ काठमाडौं ।
 
मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो । 
 
त्यसयता नयाँ श्रमस्वीकृति तथा वैधानिकीकरण भएर मलेशिया जाने कामदारको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।
 
चालू आर्थिक वर्षको पुुससम्ममा २२ हजार ८१४ जना नयाँ नेपाली कामदार मलेशिया गएका छन्, जुन गत आवको सोही अवधिको भन्दा ७७९ दशमलव ८३ प्रतिशतले बढी हो । गत आवको पुससम्म २ हजार ५९३ जना मात्र नेपाली नयाँ श्रमस्वीकृत लिएर मलेशिया पुगेका थिए । 
 
 
पुनः श्रमस्वीकृति लिएर भने १५ हजार १६७ नेपाली मलेशिया गएका छन्, जसअनुसार पुससम्म ३७ हजार ९८१ जना नेपाली कामदार त्यहाँ गएको देखिन्छ । गत आवमा मलेशियामा कुल १७ हजार ८३० जना नेपाली कामदार गएका थिए । 
 
म्यानपावरद्वारा कामदारहरू ठगिएको भन्दै सरकारले २०७५ जेठदेखि मलेशियाका लागि श्रमस्वीकृति दिन रोक लगाएको थियो । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।