Trending :
 

माथिल्लो कर्णालीको विद्युत् बंगलादेश निकासी गर्न भारतीय कम्पनी जीएमआरलाई आशयपत्र

माघ २७,२०७६

-

माघ २७,२०७६ काठमाडौं ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता भारतीय कम्पनी जीएमआरले नेपालमा उत्पादित विद्युत् बंगलादेश निकासी गर्न आशयपत्र पाएको छ।
 
योसँगै नेपालको बिजुली भारत हुँदै बंगलादेशको बजारमा बिक्री गर्न (त्रिदेशीय विद्युत् व्यापार)को बाटो खुलेको छ। आशयपत्र दिने बंगलादेश पावर डेभलपमेन्ट बोर्डसँग छिट्टै विद्युत् खरिद सम्झौता ९पीपीए० को टुंगो लगाउन गृहकार्य भइरहेको जीएमआरले जनाएको छ। उसले वित्तीय व्यवस्थापन अघि बढाउन सकिने उल्लेख गरेको छ। 
 
जीएमआरले अब ५० लाख अमेरिकी डलरको वित्तीय स्रोत बैंकहरूमार्फत जुटाउन पहल गरिरहेको आयोजना प्रमुख केके शर्माले बताए। उनका अनुसार बंगलादेशको कानुन मन्त्रालय र बंगलादेश बैंकको स्वीकृतिपछि फेरि १ करोड ५० लाख डलरको बैंक ग्यारेन्टी प्राप्त हुनेछ। 
 
जीएमआरले बोर्डलाई बैंक ग्यारेन्टीसहित विद्युत् आपूर्तिको प्रतिबद्धता गर्नेछ। बंगलादेशको मन्त्रिपरिषद्ले नेपालमा उत्पादन हुने, भारतीय कम्पनी जीएमआरद्वारा प्रवद्र्धित माथिल्लो कर्णालीको ५०० मेगावाट बिजुली खरिद गर्न बोर्डलाई अनुमति दिइसकेको छ। 
 
सोही आधारमा बोर्डले आशयपत्र जारी गरेको हो। यसबाट ९०० मेगावाट क्षमताको माथिल्लो कर्णालीबाट उत्पादन हुने विद्युत्मध्ये अधिकांश हिस्सा बंगलादेशमा निर्यात हुने गरी बजार सुरक्षित भएको छ। 
 
बोर्डले भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेडमार्फत बिजुली आयात गर्नेछ। आगामी तीन महिनाभित्र पीपीएमा हस्ताक्षर हुने अपेक्षा जीएमआरको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।