Trending :
 

चालु वर्षमा १३ खर्ब ८५ अर्ब रुपैयाँ खर्च हुने अनुमान संशोधन

फाल्गुण ०१,२०७६

-

फागुन १,२०७६ काठमाडौं ।
सरकारले चालु वर्षको खर्च र राजस्वको अनुमान संशोधन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले ०७६.७७ को बजेटको मध्यावधि समीक्षा गर्दै १५ खर्ब ३२ अर्बमध्ये १३ खर्ब ८५ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको बताए। 
 
कुल बजेटतर्फ विनियोजनको ९० प्रतिशत खर्च भए पनि विकास खर्च ८० प्रतिशत हुने अनुमान छ। सरकारले खर्च गर्ने बजेटको आकार घटाएको छ। विकास निर्माणतर्फ विनियोजित ४ खर्ब ८ अर्ब रुपैयाँबाट २० प्रतिशत बजेट कटौती गर्दा पनि सरकारले उच्च आर्थिक वृद्धिदरको लक्ष्य भने संशोधन गरेको छैन।
 
अर्थमन्त्री खतिवडाले सरकारले अनुमान गरेको ८.५ प्रतिशत हाराहारीमै आर्थिक वृद्धिदर हासिल हुने दाबी गरे। सरकारको खर्च गत वर्षभन्दा कमजोर देखिएको, निजी क्षेत्रमा जाने बैंक तथा वित्तीय संस्थाको कर्जा घटेको, पुँजी निर्माण गर्ने वस्तुको आयातसमेत घटिरहेको अवस्थामा उच्च आर्थिक वृद्धिदर कसरी हासिल हुन्छ भन्ने स्पष्ट आधार भने उनले दिन सकेका छैनन्।अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
 
सरकारले ११ खर्ब १२ अर्बको राजस्व लक्ष्यमध्ये १० खर्ब ५६ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ। यद्यपि, पहिलो ६ महिनामा भने राजस्वको लक्ष्य र असुलीमा ८१ अर्ब ५० करोड रुपैयाँको खाडल छ।
 
पहिलो ६ महिनामा सरकारले ५ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ खर्ब ५६ अर्ब १७ करोड राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्री खतिवडाले तल्लो तहका सरकारको खर्च कमजोर भएकाले राजस्व असुली केही कमजोर हुँदा पनि स्रोतको समस्या नहुने बताए।
 
बजेटको आकार नै एक खर्ब ४७ अर्ब रुपैयाँ घटाइसकिएको छ। बजेट खर्च नहुनुमा अर्थमन्त्री खतिवडाले पुनर्निर्माणको खर्च गत वर्षको तुलनामा १४ अर्ब १४ करोड कम भएको, एमसीसीको सहयोग परिचालनका लागि विनियोजित १० अर्ब रुपैयाँ खर्च नभएको साथै तल्लो तहका सरकारले खर्च गर्न नसकेको बताएका छन्।