सम्पत्ति शुद्धीकरणद्धारा उद्योगी-व्यवसायीसँग आर्थिक कारोबार विवरण माग

फाल्गुण ०५,२०७६

-

फागुन ५,२०७६ काठमाडौं ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही उद्योगी-व्यवसायीसँग आर्थिक कारोबार विवरण मागेको छ । 
 
यसबाट उद्योगी–व्यवसायी त्रसित बनेका छन् । विभागले केही उद्योगी–व्यवसायीलाई पठाएको पत्रमा उनीहरुका कम्पनीले हालसम्म चुक्ता गरेको कर विवरण, कर कार्यालयमा पेस गरेको वासलात, नाफा–नोक्सानसहित सबै आर्थिक विवरण उपलब्ध गराउन भनिएको छ । 
 
अर्थमन्त्रालय अन्तरगत रहेको विभागलाई गत वर्षदेखि प्रधानमन्त्री कार्यालय मातहत राखिएको छ । उद्योगी व्यवसायीका व्यापारिक प्रतिष्ठान तथा कम्पनीले आर्थिक वर्षभरिको सम्पूर्ण खर्च र आम्दानीको विवरण अर्थमन्त्रालय मातहतका विभिन्न निकायमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
 
निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान र कम्पनीहरुको सम्पूर्ण आर्थिक विवरण सरकारका विभिन्न निकायमा भएको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागले पनि आर्थिक कारोबारका सम्पूर्ण कागजात मागेपछि उद्योगी–व्यवसायी तर्सिएका छन् । 
 
एक उद्योगीले सरकारले तोकबमोजिम व्यवसायीले कर तिर्दै आएका बेला एकाएक जाँचबुझ र छानबिनका नाममा पत्र पठाएर विभागले त्रास फैलाउने काम गरेको आरोप लगाए । नागरिक दैनिकमा खबर छ ।