कोरोनाको त्रासः दक्षिण कोरियाबाट आउने सबै नेपालीको स्वास्थ्य विवरण लिन निर्देशन
-
फागुन १२,२०७६ काठमाडौं ।
सरकारले दक्षिण कोरियाबाट नेपाल आउने सबै यात्रुको स्वास्थ्य परीक्षणसहित सबै विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन हेल्थ डेस्कलाई निर्देशन दिएको छ । करिब ४० हजार नेपाली कामदार रहेको कोरियामा कोरोनाको प्रकोप बढेपछि नेपालमा सतर्कता अपनाइएको हो ।
कोरोनाको प्रारम्भिक परीक्षण गरी शंका लागे आइसोलेसनका लागि अस्पतालमा रिफर गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आइतबार बसेको आकस्मिक बैठकले कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरेको हो ।
यसअघि चीनको वुहानबाट आएका नागरिकको मात्रै स्वास्थ्य परीक्षण हुँदै आएको थियो । महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त ओझाले जोखिमलाई मध्यनजर गर्दै कोरियाबाट आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गर्ने निर्णय भएको बताए ।
कोरियाबाट दैनिक करिब दुई सय नेपाली आउने गरेका छन् ।चीनमा भन्दा कोरियामा कोरोना देखिँदा नेपालमा बढी जोखिम हुने अधिकारीहरू बताउँछन् ।
चिकित्सकहरूले कोरियाबाट नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था आउनेतर्फ सचेत रहनुपर्ने बताएका छन् । यसअघि चीनबाट एक सय ७५ नेपालीको ४ फागुनमा उद्धार गरी भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्रमा क्वारेन्टाइन गरी राखिएको छ ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।