Trending :
 

नेपालको नयाँ नक्सामा संविधानको निसाना छाप रहेको अनुसूची पनि संशोधन गरिने

जेठ ०६,२०७७

-

जेष्ठ ६, २०७७ काडमाडौं ।
 
सरकारले पश्चिम नेपालको उत्तरी भागमा रहेको लिम्पियाधुरासमेत समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारणमन्त्री पद्मा अर्यालले आइतबार पेस गरेको लिम्पियाधुरासहितको नयाँ नक्सा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।
 
 
अब नेपालको नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिनेछ । जुन यसअघिको नक्सामा थिएन । नयाँ नक्साअनुसार संविधानको निसाना छाप रहेको अनुसूची पनि संसद्बारा संशोधन गरिने भएको छ ।
 
सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाका अनुसार अब नयाँ नक्सा नै नेपालका प्रशासनिक कार्यालयहरू र पाठ्यक्रममा समावेश गरिनेछ । निसाना छाप संशोधन गरिनेछ । सरकारले तयार गरेको प्रतिवेदनअनुसार नयाँ नक्सामा समेटिएको कालापानी क्षेत्रको ६० वर्ग किलोमिटर भूमि भारतले अतिक्रमण गरिरहेको छ ।
 
बैठकले नयाँ नक्सा मन्त्रालयले नै कार्यक्रम गरेर सार्वजनिक गर्ने र संविधानमा नयाँ नक्सासहितको निसाना छाप राख्न संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । 
 
भूमि व्यवस्था मन्त्रालयका अनुसार नेपालको नयाँ नक्सा इतिहासका जानकार भैरव रिसालले सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्साभन्दा अलिकति ठूलो छ ।
 
मुलुकको उत्तरपश्चिमको सिमाना अहिले सार्वजनिक भएको लिम्पियाधुरासहितको नक्साभन्दा अझै अलिकति चुच्चो अगाडि गएर हात्तीको सुँढझैं तल निहुरिएको छ। मन्त्रालयले नयाँ नक्सा सार्वजनिक भएलगत्तै सरकारी कार्यालयमा प्रयोजनमा ल्याउने भनेर ५ हजार प्रति नक्सा छापिसकेको जनाइएको छ । आजको कान्तिपुर खबर छ ।