रुकुम घटनामा बेपत्ता भएका छैटौं युवकको शव फेला, १८ जनामाथी अनुसन्धान सुरु

जेठ २०,२०७७

-

जेष्ठ २०,२०७७ काठमाडौं ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ । प्रहरीका अनुसार उनको शव मंगलबार भेरी नगरपालिका-१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको हो । 
 
बेपत्ताको शव घटनास्थलभन्दा करिब २० मिटर टाढा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्ने उनको भनाइ छ । स्थानीयले भने उनको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् । स्थानीय छवि पन्तले मुख र टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको बताए ।
 
जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा यसअघि ५ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।