उपत्यकामा प्रस्तावित ४ मध्य तीनवटा स्मार्ट सिटीको डीपीआर तयार
-
जेठ २६,२०७७ काठमाडौं ।
काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्राधिकरणले जनाएको छ । बैठक समितिका अध्यक्ष सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको थियो ।
प्रस्तावित चार नयाँ सहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरिएको प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । ललितपुर महानगरपालिकाका नगरप्रमुख बैठकमा अनुपस्थित रहनुभएको हुनाले ललितपुर जिल्लामा पर्ने प्रस्तावित सहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे निर्णय हुन नसकेको उनले बताए ।
भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म (पूर्व-उत्तर) ‘काठमाडौँ इसान’ स्मार्ट सिटी निर्माण गर्ने गरिएको बताउँदै प्राधिकरण प्रमुख तिवारीले भने, त्यसैगरी भक्तपुरकै बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म (पूर्व-दक्षिण) ‘काठमाडौँ आग्नेय, ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म ९दक्षिण–पश्चिम० ‘काठमाडौँ नैऋत्य’ र काठमाडौँको साँखु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘काठमाडौँ उत्तर’ स्मार्ट सिटी निर्माण गरिने प्रस्ताव गरिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ।