Trending :
 

एउटा स्कुलमा ७२ संक्रमितः जहाँ एम्बुलेन्स, चिकित्सक, स्वास्थ्य सहयोगी, अक्सिजन र भेन्टिलेटर केही छैन

जेठ २६,२०७७

-

जेठ २६, २०७७ काठमाडौं ।
 
कपिलवस्तु यशोधरा गाउँपालिका–५ का दुर्गेशकुमार धोबी स्टिलको भाँडामा तातो पानी बोकेर हतारिँदै घर छेउको अनिरुद्र पब्लिक मावि बैदौलीमा आइपुगे । स्कुलको मूल गेटबाट मुखमा कपडाको हरियो मास्क लगाएका उनका भिनाजु बाहिर निस्किए ।
 
गेट छेउमा भिनाजुले भाँडो थापे । त्यसमै उनले तातो पानी खन्याइदिए । एकैछिन गफ गरे अनि आफ्नो बाटो लागे । धोबीलाई हामीले स्कुल छेवैको चोकमा रोक्यौं । भारतको मुम्बईबाट एक महिनाअघि फर्किएका उनका भिनाजु कोरोना संक्रमित भएपछि यही स्कुलको आइसोलेसनमा राखिएका रहेछन् । जहाँ उनीसहित ७२ जना संक्रमितलाई राखिएको छ । संक्रमितलाई तागतदार खानेकुरा र तातो पानी चाहिन्छ भनेरै भिनाजुलाई दिनमा तीनपटक तातो पानी र दुईपटक उसिनेको अन्डा पुर्‍याउन आउने गरेको धोबीले बताए ।
 
यशोधरामा जिल्लामै सबैभन्दा धेरै १ सय ५१ संक्रमित छन् । भारतबाट फर्किएकाहरूलाई जसरी विद्यालयमा क्वारेन्टाइनमा राखिन्छ, त्यसैगरी उनीहरूलाई फरक-फरक तीन विद्यालयमा आइसोलेसनमा राखिएको छ । 
 
संक्रमितलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने र आइसोलेसन सेन्टरमा भेन्टिलेटर, स्वास्थ्यकर्मी, एम्बुलेन्स र अक्सिजनजस्ता अत्यावश्यकीय सुविधा हुनुपर्ने मापदण्डमा उल्लेख छ । तर कपिलवस्तुका अधिकांश स्थानीय विद्यालयमा बनाइएका यस्ता सेन्टरमा यस्तो प्रबन्ध देखिँदैन । 
 
खाना र खाजाको प्रबन्ध स्थानीय तहले मिलाएका छन् । संक्रमितका आफन्तले तातो पानी, अन्डा, फलफूलजस्ता खानेकुरा आइसोलेसन सेन्टरमै पुर्‍याउने अभ्यासले समुदायस्तरमा संक्रमण फैलिने जोखिम बढाएको छ । कान्तिपुरमा खबर छ ।