नयाँ नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा दलका नेताहरुलाई राष्ट्रपतिको धन्यवाद, मुलुकको समृद्धिमा योगदान पुर्याउने विश्वास
-
असार ११, २०७७ काठमाडौं ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा संसदबाट सर्वसम्मत अनुमोदन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरुलाई बधाई र धन्यवाद दिएकी छन् ।
बुधबार साँझ संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरु, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा सामूहिक भेटघाटका लागि बोलाएकी थिइन् ।
राष्ट्रपति भण्डारीले नयाँ नक्सा अनुमोदनमा दलहरुले देखाएको अभूतपूर्व एकताप्रति आफू खुसी रहेको भन्दै नेताहरुलाई धन्यवाद दिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।
साथै कोरोना भाइरसको महामारीविरुद्ध पनि सबै दलहरुबीच एकता नै देखिएको भन्दै राष्ट्रपति भण्डारीले आगामी दिनमा पनि यस्तै एकता कायम गर्न सुझाएको अधिकारीले बताए ।
दलहरुसँगको सामूहिक भेटमा राष्ट्रपति भण्डारीले बढ्दो वातावरण प्रदूषण प्रति चिन्ता व्यक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले नदी प्रणााली र सबै सम्पदाको दीगो उपयोग गर्दै वातावरण सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएको अधिकारीले जानकारी दिए ।
यस्तै, उनले राष्ट्रका ज्वलन्त विषय वस्तुहरुमा दलहरुबीच हुने सहकार्य र एकताले मुलुकको आर्थिक समृद्धिमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेकी थिइन् । कान्तिपुरमा खबर छ ।