नेकपामा शक्ति संघर्षको बटमलाइनः जेठ २ को सहमतिमा फर्किने भन्नेमा अड्कियो
-
असार २०,२०७७ काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्ष २०७६ मंसिर ४ को सहमति कार्यान्वयन गर्ने कि पार्टी एकताताका २०७५ जेठ २ मा भएको सहमतिमा फर्किने भन्नेमा अड्किएको छ ।
ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने तर एकताबद्ध भएर जान चाहे मंसिर ४ को सहमतिलाई थप परिभाषित गर्न तयार रहेको भन्दै दाहाललाई आफ्नो बटमलाइन दिएका छन् । मंसिर ४ को सहमति ओलीले पाँच वर्ष सरकार चलाउने र दाहालले पार्टीको काम गर्ने भन्ने हो ।
अध्यक्ष दाहालले भने मंसिर ४ को सहमति कार्यान्वयनमा ओलीले नै बाधा सिर्जना गरेकाले अब पार्टी एकता गर्दा जेठ २ मा भएको सहमतिअनुसार जानुपर्ने प्रस्ताव गरेका छन् । जेठ २ को सहमतिको स्पिरिट भनेको दुवै अध्यक्षले सरकारको नेतृत्व आलोपालो गर्ने भन्ने हो । यसको अर्थ ओलीले अब पद छोड्नुपर्छ भन्ने हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो अध्यक्षद्वयबीच करिब ४ घण्टा वार्तालाप चले पनि दुवैले अडान नछाडेपछि सहमति हुन सकेन । प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्षीय नेताहरुबीच ओलीको राजीनामाको विषयलाई लिएर तीब्र धु्रवीकरण भएपछि विवाद सामसुम पार्न भन्दै शुक्रबार स्थायी कमिटी बैठक रोकिएको थियो । तर भेटमा दुवै अध्यक्षले सहमतिका लागि आआफूले तयार पारेको आधारबिन्दु नछाड्ने बताएपछि निष्कर्ष निस्किएन । कान्तिपुरमा खबर छ ।