ओली प्रधानमन्त्री पद छाड्दै नछाड्ने अडानमा

आषाढ २२,२०७७

-

असार २२, २०७७ काठमाडौं ।
 
पार्टी फुटको डिलमा पुगेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको कुराकानी कुनै ठोस निष्कर्षमा त पुगेन, तर संकट समाधानको सूत्र पहिल्याउन भने उनीहरू सहमत भएका छन् । पछिल्लो समय दुवैको जोड पार्टी अध्यक्षभन्दा बढी प्रधानमन्त्री पदमा केन्द्रित छ ।
 
उच्च स्रोतका अनुसार, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले दुवै पद छाड्नुपर्ने अडान राखिरहेका अर्का अध्यक्ष दाहालले केही लचिलो बनेर अब प्रधानमन्त्रीबाट मात्र हट्दा हुने संकेत दिएका छन् । विवाद मत्थर गर्दै सहमतिमा जाने संकेतका रूपमा दाहालले अब दुई पदमध्ये प्रधानमन्त्री पद छाड्नुपर्ने धारणा राखेका हुन् । तर ओलीको अडान सरकारको नेतृत्व छाड्दै नछाड्ने भन्नेमा छ ।
 
दुई नेताबीचको आइतबारको भेटघाटले नेकपामाथि लागिरहेको कालो बादल केही फाटेजस्तो देखाएको छ । भारतीय राज्यसंयन्त्र आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागेको र त्यसमा पार्टीभित्रैका नेताहरूको साथ रहेको भन्ने ओलीको अभिव्यक्तिपछि दाहाललगायत नेताहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेका थिए । 
 
कार्यकारी अध्यक्ष दाहालसहित ३० जना स्थायी कमिटी सदस्यहरूले राजीनामा मागेपछि प्रधानमन्त्री ओली थप दबाबमा परेका थिए । त्यसपछि स्थायी कमिटी बैठक रोकेर नेताहरू विवाद सल्टाउन दुई पक्षीय र त्रिपक्षीय छलफलमा व्यस्त रहे ।
 
अध्यक्ष दाहाल र ओलीबीच शुक्रबार भएको छलफलमा कुनै निचोड ननिस्किए पनि आइतबार उपलब्धिउन्मुख भएको बैठकमा सहभागी एक नेताले बताएका छन् । ‘बैठकमा सौहार्दपूर्ण कुराकानी भयो तर प्रधानमन्त्री ओलीले सरकारमै रहन्छु, पार्टीमा कुनै हस्तक्षेप गर्दिनँ भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘तर उहाँले दलभन्दा पनि सरकार चलाउन सक्नुभएको छैन, त्यसकारण प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान हो । हाम्रो पक्षको बटमलाइन पनि यही नै हो ।’ आजको कात्पिुरमा खबर छ । 
कान्तिपुरमा खबर छ ।