राजधानीमा बढ्दै कोरोना संक्रमित, कोरोना रिपोर्ट थाहा पाएपछि संक्रमितहरुको फोन अफ

आषाढ २३,२०७७

-

असार २३, २०७७ काठमाडौं ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को कन्ट्याक्ट ट्रेसिङ कन्ट्रोल रुम सोमबार बिहान निकै व्यस्त थियो । एउटा कोठामा देशभरका संक्रमितको विवरण बटुलिंदै थियो भने अर्कोमा काठमाडौं उपत्यकामा कोरोना पोजिटिभ देखिएकालाई सम्पर्क गरेर विवरण टिपिँदै थियो । संक्रमितको ट्रेसिङ गरिरहेका दुई जना निकै तनावमा देखिन्थे । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा संक्रमण पुष्टि भएको थियो ।
 
उनीहरू प्रयोगशालाहरूबाट प्राप्त फोन नम्बरमा संक्रमितलाई फोन गरिरहेका थिए । तर कसैको फोन अफ हुन्थ्यो त कसैले उठाउँदैनथे । ‘हामीले हिजो संक्रमित देखिएका सबैलाई सम्पर्क गरेका थियौं, एक-दुई जनाले हामीले सम्पर्क गरेपछि फोन अफ गर्नुभयो । 
 
उहाँहरूलाई अहिले पनि सम्पर्क गर्ने कोसिस गरिरहेका छौं,’ एक कन्ट्याक्ट ट्रेसरले भने, ‘ट्रेसिङको सबैभन्दा गाह्रो पाटो भनेकै संक्रमितलाई अस्पतालको आइसोलेसनसम्म ल्याउनु हो ।’
 
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरी उपत्यकामा हालसम्म २ सय ३९ जना संक्रमित छन् । सोमबार मात्रै काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरी ५४ नयाँ संक्रमित थपिएका हुन् ।
 
ईडीसीडीका अनुसार सोमबार अपराह्नसम्म १ सय ५३ संक्रमित आइसोलेसनमा छन् । तीमध्ये केहीको आईसीयूमा भर्ना गरेर उपचार भइरहेको छ । 
 
ललितपुरमा १ र काठमाडौंमा १ जनाको मृत्यु भएको छ । सोमबार संक्रमण पुष्टि भएका ५४ जना र आइतबार पुष्टि भएका २ जनालाई सोमबार रातिसम्म अस्पताल ल्याइएको छैन ।
 
अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३२ जना, पाटन अस्पतालमा ४६ जना, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ५७ जना, दुवाकोटको केएमसी अस्पतालमा १८ जना संक्रमित रहेको ईडीसीडीले जानकारी दिएको छ । 
 
पाटन अस्पताल स्रोतका अनुसार ४५ शय्याको कोभिड युनिट भरिएको छ । आइसोलेसनमा समेत ८९ जना शंकास्पद बिरामीलाई भर्ना गरेर राखिएको छ । कान्तिपुरमा खबर छ ।