लम्जुङमा पहिरोमा पुरिँदा एकै घरका ३ जनाको मृत्यु, म्याग्दीमा घर बगाउँदा ७ जना बेपत्ता

आषाढ २६,२०७७

-

असार २६, २०७७ काठमाडौं ।
 लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् ।
 
गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।
 
गएराति नै लम्जुङको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
 
त्इस्तै, लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका-६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।
 
घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।
 
भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएको उनले बताए । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । त्यहाँका चार घर विस्थापित भएका छन् । ‘गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ’, वडासदस्य पुनले भने, ‘पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ ।’
 
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् । रासस