बाढीपहिरोबाट १६ सय भन्दा बढी विस्थापित: म्याग्दी, जाजरकोट र सिन्धुपाल्चोकमा धेरै क्षति
-
असार २८, २०७७ काठमाडौं ।
हिमालको फेदमा रहेको म्याग्दीको धौलागिरि गाउँपालिका-६ मराङका बस्तीहरू दक्षिणपूर्व फर्केका दर्जनभन्दा बढी पाखामा छरिएका छन् । छिमेकी मालिका गाउँपालिका–७ बिमका बस्ती पनि उसैगरी छिरोलिएका छन् ।
८ घाइतेको उपचार भइरहेको छ भने २ जना बेपत्ता छन् । २० घर पुरिएको धौलागिरिमा उच्च जोखिममा रहेका घरधुरीका ५ सय ९० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
पाँच वर्ष मलेसिया बसेर फर्केपछि सुरक्षित र बलियो जग्गा खोजेर वर्ष दिनअघि मात्र बिम, मल्थानका पूर्णबहादुर परियारले घर बनाएका थिए । भाइ वीरबहादुरको घर तल्लो गरामा थियो ।
बिहीबार रातभरि पानी दर्कियो । रोपाइँको चटारो थिएन । त्यसैले उनले बिहानै उठ्ने हतारो गरेनन् । श्रीमती गौदेवी र तीन वर्षका छोरा विशेष पनि उठेका थिएनन् ।
शुक्रबार बिहान ६ बजे एक्कासि घरमाथि पहिरो खस्यो, सँगै सुतेका उनीहरूको टाउकोसम्म पुर्यो । उनले जसोतसो हात झिके, आफूमाथिका ढुंगामाटो पन्छाए र बाहिर निस्किए । श्रीमती र छोरालाई निकाल्न ढुंगामाटो खोतल्दै गर्दा अर्को पहिरो खस्यो र दुवैलाई बढारेर लग्यो । उनी बाहिर निस्केर चिच्याए तर त्यतिन्जेल तल्लो गराको भाइको चार जनाको परिवारसहित घर पनि बगिसकेको थियो ।
‘सँगै सुतेका श्रीमती र छोरालाई अँगालोबाटै पहिरोले खोसेर लग्यो, भाइको परिवारै बग्यो । के अधर्म गरेको रैछु र यस्तो व्यहोर्नुपर्यो रु मेरो पनि आधा हर नचल्ने बनायो,’ अस्पतालको बेडमा रहेका उनले भने ।
भारी वर्षापछि धौलागिरि–६ मराङका राम्चे, आरवाङ, ठूलोगाउँ, रिख, कल्लेनी, ताकम, मालिका–७ बिमका दुले, बिम, घन्टीवाङलगायतका बस्ती तथा रघुगंगा गाउँपालिकाका विभिन्न ठाउँमा आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या शनिबारसम्म २७ पुगेको छ ।
स्थानीय प्रगति युवा क्लबका अध्यक्ष चक्र पुनका अनुसार ४ जना अझै बेपत्ता छन् । पशुचौपायालगायत अन्य क्षतिबारे लेखाजोखा हुन सकेको छैन ।
धौलागिरिका दुई र रघुगंगाका एक जनाको शव शुक्रबार भेटिएको थियो । धौलागिरिका १६ र मालिकाका ८ जनाको शव शनिबार भेटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले बताए ।
धौलागिरिका ८ र मालिकाका एक जना घाइतेको उद्धार गरिएको छ । उनीहरूको बेनी अस्पताल र पोखरामा उपचार भइरहेको छ । धौलागिरिका बेपत्ता भनिएका तीन जना शनिबार साँझ सम्पर्कमा आएको प्रहरीले जनाएको छ । कान्तिपुरमा खबर छ ।