Trending :
 

भारततर्फका सीमा नाकाबाट निस्फिक्री आवागमनले कोरोनाको जोखिम बढायो

श्रावण १३,२०७७

-

साउन १३,२०७७ काठमाडौं ।
 
नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि बाक्लिएको हो ।
 
सीमावर्ती भारतीय सहरमा संक्रमण बढ्दो अवस्थामा भएका बेला यस किसिमको निस्फिक्री हिँडडुल र संक्रमित क्षेत्रबाट भित्रिएकाहरू स्वास्थ्य जाँचबिना नै घरतर्फ गइरहेकाले स्थिति जोखिमपूर्ण देखिएको हो ।
 
कोरोना संक्रमितको दिनदिनै मृत्यु हुन थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘नाकाबाट लुकीछिपी’ आउनेले जोखिम बढाएको भन्दै सुरक्षा अधिकारीहरूलाई सीमामा थप कडाइ गर्न आइतबार निर्देशन नै दिएका थिए । संघीय सरकारले लकडाउन खोलेसँगै सीमामा अपनाइएको सतर्कतालाई ‘खुकुलो’ मानेर प्रदेश २ मा भारतबाट निस्फिक्री भित्रिनेको संख्या उच्च छ । 
 
कोरोना संक्रमण फेरि बढेपछि जनकपुरस्थित प्रादेशिक अस्पतालको निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतले लगत्तै सुरक्षा निकायका सबै प्रमुखलाई डाकेर नाकामा निगरानी बढाउन निर्देशन दिएका हुन् । ‘नाकाबाट लुकीछिपी आउनेका कारण संक्रमण बढेको छ,’ मुख्यमन्त्री राउतले सुरक्षा अधिकारीहरूलाई भने, ‘अहिले कडा लक्षणसहितको कोरोना संक्रमण भेटिएको छ ।’
 
प्रदेश २ का आठ वटै जिल्ला भारतको बिहारसँग जोडिएका छन् । बिहारमा अहिले संक्रमण उच्च दरमा फैलिइरहेको छ । प्रदेश २ को भारतसँग जोडिएको ४ सय ६५ किलोमिटर खुला सीमामा सशस्त्र प्रहरीका ५५ वटा बीओपी छन् । एउटा बीओपीमातहत रहेका ४ देखि ५ वटा थप फरवार्ड बेसबाट निगरानी गरिरहे पनि पारिबाट भित्रिने क्रम रोकिएको छैन ।
 
आजको कान्तिपुरमा खबर छ ।