सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा

श्रावण १४,२०७७

-

साउन १४, २०७७ काठमाडौं ।
सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो ।
 
पछिल्ला दिनमा गाउँ गएका व्यक्ति पनि सहर फर्किने क्रम सुरु भएको छ । यसले पनि सहरी क्षेत्रमा जोखिम बढेको हो । कुनै व्यक्ति संक्रमितको सम्पर्कमा आइहाले कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत चुनौती बन्दै गएको छ ।
 
 
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार पछिल्लो २५ दिनको अवधिमा सबैभन्दा धेरै ३ सय ११ संक्रमित थपिएका छन् । यसअघि गत १९ असारमा एकै दिन थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
 
मंगलबार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
 
यस्तै, काठमाडौंका धापासी, बसुन्धारा क्षेत्रमा पनि संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
 
पछिल्लो केही दिनयता लक्षणसहितका संक्रमित देखिन थालेका छन् । श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउनेलगायतका लक्षण संक्रमितहरूमा देखिन थालेको छ । जसकारण जोखिम दिन प्रतिदिन बढ्दै गएको भन्दै सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।