ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियालाई नै लगानी बोर्डको नेतृत्व दिने तयारी
-
साउन १८,२०७७ काठमाडौं ।
ठूला आयोजना हात पार्न राजनीतिक बिचौलियाको काम गर्ने, हात पारिसकेपछि अलपत्र पार्ने र निर्माणाधीन आयोजनाको लागत बढाई अनियमितता गर्ने गरेको आरोप लागेका व्यापारिक घरानाका व्यक्तिलाई नै सरकारले लगानी बोर्डको नेतृत्व दिने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिसँग गरेको परामर्श र हालसम्म अपनाइएका प्रक्रियाअनुसार बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्टलाई नियुक्त गर्ने निश्चित जस्तै छ ।
अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले भट्टसहित तीन जनाको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरिसकेको छ ।
‘कानुनअनुसार सिफारिस गर्दा तीन जना हुनुपर्ने भएकाले भट्ट, विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र प्रदेश १ लगानी प्राधिकरणका सीईओ सरोज कोइरालाको नाम सिफारिस हुने भएको हो,’ स्रोतले भन्यो, ‘तीन जना सिफारिस भए पनि भट्ट नै बोर्डको सीईओ हुने निश्चित भइसकेको छ ।’
सुशील र उनका भाइ दीपक भट्टले विदेशी कम्पनीको एजेन्ट भई यहाँका राजनीतिक दललाई प्रभावमा पारेर ठूला आयोजना निर्माणको ठेक्का हात पार्ने गरेका छन् । प्रधानमन्त्री ओलीकै जोडबलमा योजना आयोगका सदस्यसमेत भएका सुशीलका भाइ दीपकको सबैजसो राजनीतिक दलका नेतृत्वसँग पहुँच छ । हाल प्रधानमन्त्री ओलीसँग दीपक अति निकट छन् । आजको कान्तिपुरमा खबर छ ।