Trending :
 

उपत्यकाका १३६ ठाउँमा कोरोना संक्रमित

श्रावण २४,२०७७

-

साउन २४, २०७७ काठमाडौं ।
काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ । 
 
ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका छन् । ‘त्यसमा पनि प्रदेश २ बाट आएकाको संख्या बढी छ । भारतबाट आएका पाँच जना छन्,’ कोइरालाले भने । 
 
शय्या अभावका कारण शुक्रबार पनि संक्रमितमध्ये २५ जनालाई मात्र अस्पतालको आइसोलेसनमा पठाइएको छ । ६८ जना घरकै आइसोलेसनमा बसेका छन् । केही सम्पर्कविहीन र उपत्यकाबाहिर छन् । ‘रोगको उपचार गर्न अस्पताल भर्ना भएका केहीलाई त्यहीं बस्न भनेका छौं,’ कोइरालाले भने ।
 
शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ३४ जना महिला छन् । उपत्यकाको एक परिवारमा सात जनालाई संक्रमण भएको छ भने अर्को एक परिवारमा दुई जना संक्रमित भएका छन् । लकडाउन हटेयता लक्षणसहितको संक्रमितको संख्या पनि बढेको छ । उपत्यकामा शुक्रबार लक्षणसहितका संक्रमित ३० जना पाइएको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना देखिएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । ६ सय ४६ जना सक्रिय संक्रमित हुन् । मन्त्रालयले काठमाडौंसहित ६ जिल्लालाई जोखिममा राखेको छ । साउन १ देखि १२ सम्म उपत्यकामा दिनहुँ १६ जनाभन्दा कम संक्रमित थपिएका थिए ।
 
साउन १३ मा एकै दिन ६१ जनामा संक्रमण पुष्टि भएको थियो । दिनमा ५० जनाभन्दा बढी संक्रमित थपिन थालेपछि आइसोलेसनमा राख्ने शय्याको अभाव हुन थालेको छ । ईडीसीडीको संक्रमित व्यवस्थापन गर्ने टोलीले घरमै आइसोलेसनमा बस्न चाहनेलाई अनुमति दिने गरेको छ । उनीहरूलाई स्थानीय तहका चिकित्सक र स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने भए पनि अधिकांशलाई निगरानी नगरिएको गुनासो छ ।
 
बुधबार संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये २० जना घरमै आइसोलेसनमा बसेका थिए । बिहीबार पनि ८१ जना संक्रमित देखिएकामा ४० जना प्रहरी र तिनका आफन्त प्रहरी अस्पतालमा आइसोलेसनमा राखिएको छ । अरू घरमै छन् । कान्तिपुरमा खबर छ ।