कोरोना संक्रमित बढ्न थालेपछि बल्ल उपत्यकामा आइसोलेसन भवनको खोजी
-
साउन २६, २०७७ काठमाडौं ।
उपत्यकामा कोरोना संक्रमण भयावह हुन थालेपछि बल्ल स्वास्थ्य मन्त्रालय आइसोलेसन सेन्टर व्यवस्थापनमा जुटेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा दिनमा एक सय जनाभन्दा बढी संक्रमित देखिएपछि आइसोलेसनका लागि खाली भवन खोज्न थालिएको हो ।
मन्त्रालय सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पहिला तोकिएका आइसोलेसन भरिएपछि कीर्तिपुरको आयुर्वेद अस्पतालमा क्षमता विस्तार गरेर दुई सय शय्या तयार गरिएको छ ।
त्यहाँ चार दिनअघिसम्म २० जना मात्रै संक्रमित राख्ने गरिएको थियो । ‘यो पनि भरियो भने वरिपरिका अरू खाली भवनमा समेत बेड व्यवस्था गरेर संक्रमित राख्ने योजना छ,’ डा. अधिकारीले भने ।
आयुर्वेद अस्पतालको कोरोना संक्रमित व्यवस्थापन टोलीका संयोजक डा. जितेन्द्र श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकाले क्वारेन्टाइन बनाएको भवनमा आइसोलेसन बनाइएको हो ।
क्वारेन्टाइन खाली हुनेबित्तिकै वाईफाई, पानी, बत्तीको व्यवस्था गरेर लक्षण नभएका संक्रमितलाई आइसोलेसनमा राख्ने प्रबन्ध मिलाइएको थियो । तीनतले भवनको पहिलो र दोस्रो तलामा संक्रमितलाई राखिएको छ ।
भवनमा महिलाका लागि ४ वटा र पुरुषका लागि ८ वटा मात्रै शौचालय छन् । कार्यालय प्रयोजनका लागि बनाइएको यो भवनमा बाथरुम एउटा पनि छैन । डा. श्रेष्ठले आइतबार राति ९ बजेसम्म १ सय १६ जना संक्रमित भर्ना भएको जानकारी दिए । २० जना संक्रमित व्यवस्थापन गर्ने कर्मचारीले एक सयभन्दा बढीलाई व्यवस्थापन गरिरहेका छौं । संक्रमित आउने क्रम जारी छ, उनले भने ।
आयुर्वेद अस्पताल वरिपरि खाली भवन खोजेर थप आठ सय जना व्यवस्थापन गर्ने योजना स्वास्थ्य मन्त्रालयको छ । मनमोहन अस्पतालले मेडिकल कलेजका लागि तयार गरेको इचंगुनारायणको भवनमा पनि दुई सय जना व्यवस्थापन गर्ने तयारी छ ।
कीर्तिपुर र मनमोहनको भवन पनि भरिए खरिपाटीको विद्युत् प्राधिकरणको भवनलाई प्रयोग गर्ने योजना छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा। अधिकारीले भने ।
मन्त्रालयले यसअघि नै कोरोना संक्रमितलाई उपचार गर्न तोकेका बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १ सय २०, पाटन अस्पतालमा ६०, केएमसीमा १ सय शय्या, टेकुमा ५४ शय्या छन् । ती सबै संक्रमितले भरिएपछि सेना र प्रहरी अस्पतालमा राख्ने निर्णय गरेको थियो ।
यी दुई अस्पताललाई असार २१ को मन्त्रीस्तरीय बैठकले लेभल २ मा समावेश गरेको थियो । तर, सैनिक अस्पतालले संक्रमित सेना र प्रहरीले संक्रमित प्रहरीलाई मात्रै भर्ना गर्ने भनेपछि मन्त्रालयले अर्को विकल्प अघि सारेको हो । आजको कान्तिपुरमा खबर छ ।